नेपालमा १ सय ५६ जनामा कोरोना सङ्क्रमण

काठमाडौ, ४ साउन ।

पछिल्लो २४ घन्टामा नेपालमा १ सय ५६ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभरका २७ वटा प्रयोगशालामा पछिल्लो २४ घन्टामा गरिएको ३ हजार ७ सय ४१ वटा पीसीआर परीक्षणमा १ सय ५६ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १७ हजार ६ सय ५८ जना पुगेको छ । अहिलेसम्म प्रदेश नम्बर १ मा ८ सय ३०, प्रदेश नम्बर २ मा ४ हजार ५ सय ५१, वाग्मती प्रदेशमा ८ सय ५६ र गण्डकी प्रदेशमा १ हजार ३ सय ८१ जनामा सङ्क्रमण देखिएको छ ।

यस्तै, प्रदेश नम्बर ५ मा ४ हजार १ सय ७२, कर्णाली प्रदेशमा १ हजार ८ सय १४ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ५४ जनामा सङ्क्रमण देखिएको छ । अहिले देशका विभिन्न आइसोलेसनमा ५ हजार ९ सय २३ जना संक्रमित उपचाररत रहेका छन् । हाल देशभरीका क्वारेन्टाइनमा २२ हजार ६ सय ६१ जना रहेका छन् । नेपालमा हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ । यस्तै नेपालमा कोरोना निको हुनेको संख्या ११ हजार ६ सय ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रवक्ता डा. गौतमले यो संख्या कूल संक्रमितको ६६ दशमलब २३ प्रतिशत भएको बताए ।

प्रकाशित मिति : २०७७ साउन ४ गते आइतवार
प्रतिक्रिया