सरकारको सचिवमा मानबहादुर बीके बढुवा

काठमाडौ, ३० असार ।

नेपाल सरकारको सचिव पदमा डाक्टर मानबहादुर बीकेलाई सचिवमा बढुवा गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले बिकेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । लोकसेवा आयोगको अध्यक्ष उमेशनाथ मैनालीको अध्यक्षतामा रहेको बढुवा समितिको बैठकले सचिव बढुवाका लागि बीकेसँगै गोकर्णमणि दुवाडी र मधु मरासिनीको नाम सिफारिस गरेको थियो । तीन मध्येबाट बीके सचिव बढुवा भएको मन्त्रिपरिषद स्रोतले बताएको छ । डाक्टर बीके हाल युवा तथा खेलकुद मन्त्रालयमा थिए ।

नेपाल सरकारको सचिवमा बढुवा भएका बिके दलित समुदायबाट पहिलो व्यक्ति हुन् । यस अघि अहिले सम्म दलित समुदायबाट कुनै व्यक्ति उक्त पदमा पुगेका थिएनन् ।खरिदारबाट सरकारी सेवामा प्रवेश गरेका डा.बीके २०६० सालमा दलित समुदायबाट पहिलो पटक प्रमुख जिल्ला अधिकारी (सीडीओ) बनेका थिए । बर्दिया, स्याङ्जा, चितवन, मकवानपुर, सिरहा, तनहुँलगायतका जिल्लामा सीडीओ भई काम गरेका उनी श्रम विभागको महानिर्देशक, कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिव र प्रदेश ५ को प्रमुख सचिवको जिम्मेवारी सम्हालि सकेका छन् । पाल्पाको निम्न वर्गीय परिवारमा जन्मिएका बीकेले ब्राण्डाइज युनिभर्सिटी अमेरिकाबाट पोस्ट डक्टरेट गरेका छन् ।

प्रकाशित मिति : २०७७ असार ३० गते मङ्गलवार
प्रतिक्रिया