तुलसीपुर ४ को वडा कार्यालय बनहरीमा सर्ने पक्का

तुलसीपुर २६ असार ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ को वडा कार्यालय बनहरी सार्ने निर्णय भएको छ । शुक्रवार तुलसीपुर उपमहानगर कार्यपालिकाको सातौ नगरसभाको तेस्रो बैठकले रक्षाचौरमा रहेको हालको वडा कार्यालयलाई वनहरीमा सार्ने निर्णय पारित गरेको हो । भुगोलको हिसावले बनहरी उपयुक्त हुने निष्कर्ष सहित कार्यदलले वडा कार्यालय बनहरीमा सार्न सिफारिस गरेको थियो ।

यस अघि वडा कार्यालय सार्ने विषयमा स्थानियबासीले विरोध गरेपछि विवाद भएको थियो । विवाद पछि प्रवक्ता सुर्य बहादुर डाँगीको संयोजकत्वमा एक कार्यदल गठन गरिएको थियो । कार्यदलले वडा कार्यालय सार्ने विषयमा वडाका सम्पुर्ण टोल विकास संस्थाहरुबाट राय सुझाव माग गरी तयार पारेको प्रतिवेदन कार्यपालिकामा पेश गरेको थियो ।
हालको वडा कार्यालय बनहरी सार्ने विषयमा २९ वटा टोल विकास संस्थाले आधार सहित रायसुझाव पेश गरेका थिए भने १७ वटा टोल विकास संस्थाले हालको वडा कार्यालय सार्न नहुने भन्दै रायसुझाव पेश गरेका थिए ।

नगरकार्यपालिकाले गरेको वडा कार्यालय बनहरीमा सार्ने निर्णयलाई वडा अध्यक्ष बालकृष्ण रानाले स्वागत गरेका छन् । आफुहरुको लागी वडाका सवै बासीन्दा समान र बराबर भएको बताउदै उनले वडा कार्यालय बनहरी उपयुक्त स्थान भएको बताएका छन् ।भुगोल र जनसंख्याको आधारमा सवैलाई पाएक पर्ने स्थान बनहरी भएकाले हालको वडा कार्यालय सार्ने निर्णय भएको वडा अध्यक्ष रानाले बताएका छन् । कार्यपालिकाको बैठकबाट निर्णय भएसंगै विस्तारै वडा कार्यालय सार्ने प्रक्रिया अघि बढाईने उनको भनाई छ । स्थानिय सरकार सन्चालन ऐन २०७४ अनुसार छलफल गरी उपयुक्त स्थानमा वडा कार्यालय सार्न सकिने निर्णय गरेको हो ।।

 

प्रकाशित मिति : २०७७ असार २६ गते शुक्रवार
प्रतिक्रिया