छुट्टाछुट्टै घटनामा परि दुई जिल्लाका चार जनाको मृत्यु

काठमाडौ, २१ असार ।

विभिन्न घटनामा परि दुई जिल्लाका चार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार झापा र मोरङमा खोलाले बगाउदा दुई जनाको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका ५ का ३५ वर्षीय पुष्प राईको खोलाले बगाएर मृत्यु भएको प्रहरलिे जनाएको छ । ​चाजु खोला र रतुवा खोलाको दोभानमा बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका राईको शव खोलाको डिलमा भेटिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

यसैगरी मोरङको कटहरी गाउँपालिका ७ का प्रद्युम्न सरदारको ६ वर्षीया छोरी दीक्षा सरदारको जुडी खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएर ज्यान गएको प्रहरीले जनाएको छ ।यस्तै झापा र मोरङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । झापाको मेची नगरनगरपालिका १४ का २७ वर्षीय चक्रबहादुर भुजेलको करेन्ट लागेर मृत्यु भएको हो ।

घरमा वायरिङका तारहरु सङ्कलन गर्ने क्रममा अचानक करेन्ट लागेर घाइते हुनुभएका भुजेललाई झापाको बी एण्ड सी अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।यसैगरी मोरङको रतुवामाई नगरपालिका ९ का ३२ वर्षीय खेमबहादुर भुजेलको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ असार २१ गते आइतवार
प्रतिक्रिया