सरकार आफनो भएपनि कोरोना आफनो होइन् : प्रदेश सांसद डाँगी

तुलसीपुर, १९ असार  

जिल्ला समन्वय समिति दाङको अगुवाईमा शान्तिनगर गाउँपालिकाले निर्माण गरेका क्वारेन्टाईन र आइसोलेसनको व्यवस्थापनको अनुगमण गरिएको छ । शान्तिनगरको पातेटाकुरमा रहेको क्वारेन्टाईन र सिमसुन्दरपुर माविमा रहेको आइसोलेसन वाडको अनुगमणपछि प्रदेश–५ का प्रदेश सांसद अमर बहादुर डाँगीले सरकारको व्यवस्थापकीय कम्जोरीका कारण देशभरका हजारौं नागरिकले बन्द कोठामा कष्ट झेल्नु परेको बताए ।
समयमै पिसीआर रिपोर्ट नआउँदा र परीक्षणको दायरा नबढाउदा कोरोना संक्रमितको संख्या बढ्दै गएको टिप्पणी सांसद डाँगीले गरे । सरकार आफनो भएपनि रोग आफनो नभएको भन्दै संघिय सरकारको ठोस नीति नहुँदा पालिकाहरु अहिले घर अगाडिको अस्पतालमा कोरोना परीक्षण गराउन छोडेर जिल्ला बाहिर दौड्नु पर्ने अवस्था अएको बताए ।

जिल्ला समन्वय समितिका अध्यक्ष जितेन्द्रमान नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा शान्तिनगर गाउँपालिका अध्यक्ष कमान सिङ डाँगीले कोरोना संक्रमण नियन्त्रणका लागि एक करोड बढी खर्च भएको बताउदै राप्ती विज्ञान प्रतिष्ठानले स्वाब फिर्ता पठाउँदा दाङका सबै गाउँपालिकाहरु झनै प्रताडित भएको बताए ।

सो अवसरमा जिल्ला समन्वय समितिले ४५०थान सर्जीकल मास्क, थर्मल गन एक थान, सर्जीकल ग्लोव ५० जोडा, सेनिटाईजर गाउँपालिका अध्यक्ष डाँगीलाई हस्तान्तरण गरेको थियो ।

 

प्रकाशित मिति : २०७७ असार १९ गते शुक्रवार
प्रतिक्रिया