परीक्षण विनानै धमाधम स्वाब फिर्ता पठाउँदै प्रतिष्ठान

तुलसीपुर, १८ असार

स्थानीय तहले कोरोना परीक्षणका लागि संकलन गरेर पठाएको स्वाब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले नुझेर फर्काइदिने गरेको छ । तुलसीपुर उपमहागनरपालिकाले पठाइएको स्वाब प्रतिष्ठानले माथिको आदेश भन्दै नबुझेर फकाईदिएको तुलसीपुर उपमहानगरपालिका कोभिड–१९ का फोकल पर्सन बिमल केसीले जानकारी दिए । उपमहानगरपालिकाले पवननगरबाट ४५ जनाको स्वाब संकलन गरेर बुधबार प्रतिष्ठानमा पठाएको थियो ।

त्यसैगरी गढवा गाउँ पालिकाले संकलन गरेर पठाएको ३१ जनाको स्वाब पनि फिर्ता पठाईदिएको छ भने राजपुर गाउँपालिकाको परिक्षण गरिएको १०२ जनाको स्वाबको रिपोर्ट प्रतिष्ठानले दिएको छैन् ।  संकलन गरेर परिक्षणको लागि पठाएको र प्रतिष्ठानले प्रति स्वाब पाँच हजार पाँच सय रुपैयाँ तिरे मात्रै स्वाव बुझ्ने बताएको गढवा गाउँपालिकाका अध्यक्ष शहजराम यादवले जानकारी दिए ।

प्रतिष्ठानले लेटर प्याडमा लाखौं रुपैयाँ सहयोग गर्न भन्दै पत्र पठाए पनि पालिकाले पैसा नदिएपछि स्वाब परीक्षणको काम रोकिएको हो । दाङमा कोरोना परिक्षणको जिम्मेवारी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले मात्र पाएको छ । संकलित स्वाब परिक्षण बिनानै स्थानीय तहमा फर्काएपछि तुलसीपुर उपमहानगरपालिकाले काठमान्डौ र गढवा गाउँपालिकाले भैरहवा पठाएका छन् ।

यता तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले परीक्षणका लागि पठाएको स्वाब फिर्ता गर्नु गैर जिम्मेवारी काम भएको बताएका छन् । ‘हामीले सम्पर्क गर्न खोजि रहेका छौ । फोन पनि उठदैन् ,’ प्रमुख पाण्डेले भने –‘फोन नउठे कुरा हुने भएन । त्यसैेले काठमान्डौ पठाउन लागेका छौ ।’

स्वाब नबुझेर फिर्ता पठाएको प्रतिष्ठानले औपचारीक रुपमा आफनो धारणा सार्वजनिक गरेको छैन । यद्यपी सम्पर्क गर्नखोज्दा आधिकारीक कुनै पनि व्यक्ति सम्पर्कमा आउन चाहेनन् ।

 

प्रकाशित मिति : २०७७ असार १८ गते बिहिवार
प्रतिक्रिया