देशभर आईतवार थप चार सय ६३ जनामा सङ्क्रमण पुष्टि

काठमाडौ, १४ असार ।

आईतवार नेपालमा थप चार सय ६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आईतवारको नियमित जानकारीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मोरङ, झापा, उदयपुर, इलाम, सुनसरी, धनुषा, महोत्तरी, दार्जुला, गोरखा, खोटाङ, रौतहट, सर्लाही, सिन्धुपाल्चोक, गुल्मी, धादिङ, ललितपुर, बाजुरा, कास्की, नवलपुर, बागलुङ, सल्यान, लमजुङ, म्याग्दी, कपिलबस्तु, पाल्पा, प्युठान, दाङ, रोल्पा, रुकुम पश्चिम लगायतका जिल्लामा गरी थप चार सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

नयाँ सङ्क्रमितमा महिला १ सय ५ र पुरुष ३ सय ५८ जना रहेका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार योसँगै नेपालमा कोरोना सङ्क्रमितको कूल संख्या १२ हजार सात सय ७२ पुगेको छ । यसैगरी कोरोना निको हुनेको संख्या तीन हजार नाघेको छ । बितेको २४ घण्टामा १३ महिला र एक सय ६६ पुरुष गरी एक सय ७९ जना सङ्क्रमित निको भएर घर फर्किएको गौतमले जानकारी दिए । योसँगै कोरोना निको हुनेको संख्या तीन हजार १३ पुगेको छ ।

प्रकाशित मिति : २०७७ असार १४ गते आइतवार
प्रतिक्रिया