दाङको खाद्रेमा सलह भेटियो, सचेत रहन किसानलाई आग्रह

लक्ष्मण विश्वकर्मा, तुलसीपुर १४ असार ।

दाङको तुलसीपुर ४ खाद्रेमा सलह किरा देखा परेको छ । जनश्रम माध्यामिक विद्यालय खाद्रेमा सलह देखा परेकोे वडा अध्यक्ष बालकृष्ण रानाले जानकारी दिएका छन् । आईतवार विहान विद्यालयको वरपर सलह किरा देखा परेपछि सम्वन्धित कार्यालयलाई वडा अध्यक्ष रानाले खवर गरेका थिए । सुचना पाएपछि कृषि ज्ञान केन्द्र घोराहीका प्रमुख र कृषि शाखा कार्यालय तुलसीपुरका प्रमुखले स्थलगत अध्ययन गरेको वडा अध्यक्ष रानाले जानकारी दिएका छन् ।
अध्ययन पश्चात कृषि ज्ञान केन्द्र दाङका प्रमुख सन्देश धितालले सलह किरा नै भएको जानकारी दिएका छन् ।

उनले त्यस क्षेत्रमा भेटिएको सलहको फोटो खिचेर नेपाल कृषि अनुसन्धान परिषदमा पठाउदा सलह किरा भएको पुष्टि भएको बताएका छन् ।उनका अनुसार ठुलो मात्रामा नभई हुलबाट छुटीएर थोरै मात्रामा आएको हुन सक्ने अनुमान गरिएको छ । यो किरा हावा संगै फैलिने भएकाले तत्काल फैलन सक्ने अवस्था नभएको प्रमुख धितालले बताएका छन् ।

जिल्लाका अन्य स्थानमा अहिले सम्म देखा परेको भन्ने सुचना प्राप्त नभएको बताउदै उनले त्यस क्षेत्रका वरपरका किसानहरु सजग हुनुपर्ने उनको भनाई छ । वडा अध्यक्ष रानाले खाद्रेमा सलह किरा देखा परेपछि त्यस क्षेत्रका किसानलाई सचेत रहन आग्रह गरेको बताएका छन् । घाम लागेको समयमा यो किरा फैलने खतरा भएकाले समयमै सचेत रहन वडाका सवै क्षेत्रमा सुचना प्रवाह गरेको बताएका छन् ।

प्रकाशित मिति : २०७७ असार १४ गते आइतवार
प्रतिक्रिया