पिडान दाङद्वारा प्राथमिक उपचार बक्स वितरण

दाङ, १० असार ।

कोरोना भाईरस कोभिड १९ को उच्च जोखिम र संक्रमणका बिच पनि सामाजिक उत्तरदायित्व बहन गर्दै नेपाल औषधी थोक व्यवसायी संघ ५ नम्वर प्रादेशिक समिति दाङले जिल्ला प्रहरी कार्यालय दाङ र मातहतका प्रहरी चौकीहरुलाई औषधी र सर्जिकल सामाग्री सहितको उच्च स्तरिय १७ थान प्राथमिक उपचार बक्सको साथै ५ लिटरको सेनिटाईजर हस्तान्तरण गरेको छ।
संघका अध्यक्ष शालिकराम आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक गणेश चन्दले औषधी थोक व्यवसायी संघले सुरक्षाकर्मीहरुको स्वास्थ्य समस्या प्रति चासो राखेर प्राथमिक उपचार सामाग्री प्रदान गरेकोमा धन्यवाद दिए । सुरक्षाकर्मी र स्वास्थ्यकर्मी दुबैको उद्देश्य जनसेवा गर्ने नै भएको हुँदा दुबै पक्ष एक(अर्काको लागि सहयोगी हुनुपर्ने र आगामी दिनहरुमा समुदायमा देखापर्ने कुनै पनि महामारीका विरुद्ध समन्वय गरी कार्य सम्पादन गर्ने प्रतिवद्दता समेत व्यक्त गरे ।
संघका सचिव दिपेन्द्र न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनले सुरक्षाकर्मी र स्वास्थ्यकर्मी दुबै पक्ष महामारी नियन्त्रणको अग्र पंक्तिमा सरिक हुने जनशक्ती भएको हुँदा एक आपसमा समन्वय गरेर काम गर्दा राम्रो हुने र प्राथमिक उपचार सामाग्री वितरण आजको सन्दर्भमा ज्यादै महत्वपूर्ण कार्य भएको बताए । कार्यक्रमको सहजिकरण महासचिव तुफानबाबु श्रेष्ठले गरेका थिए ।

प्रकाशित मिति : २०७७ असार १० गते बुधवार
प्रतिक्रिया