खण्डग्रास सूर्यग्रहणः कुन उमेर समुहका मानिसले भोजन गर्नु हुदैन

काठमाडौँ,७ असार ।

आषाढ कृष्ण औँसीका दिन आइतबार खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्दैछ।नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणले बिहान १० बजेर ५० मिनेट जाँदा स्पर्श गर्नेछ। दिउँसो १२ बजेर ३८ मिनेट जाँदो मध्य र दिउँसो २ बजेर २३ मिनेट जाँदा ग्रहणले मोक्ष प्राप्त गर्ने समितिका अध्यक्ष डा। रामचन्द्र गौतमले बताए । तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट सूर्यग्रहण देखिने छ ।

शास्त्रीय मान्यताअनुसार असार ६ गते राति १० बजेर ५० मिनेटदेखि नै बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ ।ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता छ ।ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने गर्छ । सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ । आइतबारको सूर्यग्रहण मृगशिरा र आद्र्रा नक्षत्र एवं मिथुन राशिका मानिसलाई अति कष्ट हुने समितिका सदस्य सचिव एवं सूर्य पञ्चाङ्गका पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले बताए ।

सूर्यग्रहणको फल राशि अनुसार फरक छ । मेष राशिकालाई श्रीप्राप्ति, वृष राशिलाई क्षति, मिथुनलाई घात, कर्कटलाई व्यय, सिंह राशिका मानिसलाई लाभ, कन्या राशिलाई सुख, तुला राशिलाई माननाश, वृश्चिक राशिलाई कष्ट, धनु राशिलाई स्त्रीपीडा, मकर राशिलाई सुख, कुम्भलाई चिन्ता र मीनलाई व्यथाको फल हुने समितिले स्वीकृति दिएको पात्रो ९पञ्चाङ्ग० मा उल्लेख छ ।मेष, सिंह, कन्या र मकर राशिकाले मात्र सुरक्षित विधि अपनाएर ग्रहण हेर्न हुने शास्त्रीय मान्यता छ ।

प्रकाशित मिति : २०७७ असार ७ गते आइतवार
प्रतिक्रिया