रुकुम घटना : थुनछेक बहस शुरु हुँदै

दाङ, ५ असार ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीमा भएको घटनाको छानबिनका लागि सरकारले गठन गरेको संसदीय समितिले जिल्लाका सरोकार पक्षसँग भेटघाट तथा छलफल गरेको छ ।घटनाको छानबिनका लागि सदरमुकाम मुसीकोट पुगेको टोलीले जिल्लाका राजनीतिक दल, अधिकारकर्मी, पत्रकार लगायतसँग बिहीबार छलफल गरेको हो ।

समितिले गत जेठ १० गते छ जनाको मृत्यु भएको सोती घटनाका सम्भावित कारण, त्यसले उब्जाएको परिस्थिति लगायत घटनासंँग सम्बन्धित समसामयिक विषयवस्तुमा जिल्लास्थित सरोकार भएकाहरुको विचार एवं राय बुझ्नुको साथै सल्लाह सुझावसमेत लिएको छ ।सरोकार पक्षले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनका लागि चाल्नुपर्ने कदमका बारेमा सुझाव दिएको थियो भने समितिले यस्ता घटना हुन नदिनका लागि सरकारलाई आवश्यक सुझाव दिनुपर्नेमा जोड दिएको थियो ।

प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलको संयोजकत्वमा रहेको समितिका सबै सदस्य सम्मिलित टोली जाजरकोट हुँदै घटनास्थल सोती गाउँ पुगेर सदरमुकाम मुसीकोट पुगेको हो ।टोलीले जाजरकोटमा पीडित परिवारसंँग भेट गर्नाका साथै त्यहाँका सुरक्षा निकायलगायत सरोकार पक्षसँग पनि छलफल गरेको थियो । त्यसपछि टोलीले घटनास्थल सोती गाउँमा पुगेर घटनाको स्थलगत अवलोकन तथा स्थानीयवासीसंँग घटनाका बारेमा जानकारी लिएको थियो ।

उक्त घटनामा संलग्न भएको आरोपमा ३४ जनाविरुद्ध रुकुम अदालतमा मुद्दा परेको छ । तीमध्ये दुई नाबालकसहित २९ जना पक्राउ परेका छन् भने पाँच जना फरार छन् । बिहीबार प्रतिवादीको बयान सकिएपछि शुक्रबारदेखि अदालतमा उनीहरुको थुनछेक बहस शुरु हुँदै छ ।

प्रकाशित मिति : २०७७ असार ५ गते शुक्रवार
प्रतिक्रिया