सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको तयारी

काठमाण्डौ,४ असार ।

सरकारले सार्वजनिक यातायात सञ्चालनको तयारी गरेको छ । सार्वजनिक यातायात सञ्चालनको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र मजदुरबीच छलफल चलिरहेको विभागका महानिर्देशक गोगन हमालले जानकारी दिए ।महानिर्देशक हमालले सिट क्षमताको आधा सङ्ख्यामा मात्रै यात्रु राख्ने, सार्वजनिक यातायातको प्रत्येक एउटा सिट खाली राखेर मात्रै अर्को सिटमा यात्रु बस्न पाउने, गाडीमा बस्ने सबैले स्यानिटाइजर र मास्कको प्रयोग गर्नुपर्नेलगायतका प्रस्तावसहित निर्देशिका तयार गरेको जानकारी दिए ।

तर विभागले बनाएको निर्देशिकामा व्यवसायीले सहमति जनाएका छैनन् ।विभागका महानिर्देशक हमालले सार्वजनिक यातायातमा कोरोनाबाट सुरक्षित रहन मापदण्ड बनाएको बताए । यसलाई अन्तिम रुप दिन सरोकारवालासँग छलफल भइरहेको छ ।सरकारले व्यवसायी र मजदुरलाई मर्कामा पर्न नदिन भाडा बढाएर भए पनि सार्वजनिक यातायात सञ्चालनको तयारी गरिरहेको छ ।

तर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सामाजिक दुरी कायम गर्न बसमा आधा मान्छे लिएर गुडेपछि आफूहरूको खर्चसमेत नउठ्ने जनाएको छ । सरकारले भाडा वृद्धि गर्ने मात्र नभइ अनुदानको व्यवस्था पनि गर्नुपर्ने महासङ्घको माग छ ।

प्रकाशित मिति : २०७७ असार ४ गते बिहिवार
प्रतिक्रिया