नेपालमा पहिलो विद्यार्थी आन्दोलन भएको दिन

काठमाडौँ, १ असार ।

नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् इतिहासमा विशिष्ठ महत्व राखेको छ । विसं २००४ असार १ गते तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अङ्ग्रेजी, गणित, विज्ञान, भूगोललगायत पनि पढ्न पाउनुपर्ने माग गर्दै राणा शासकका विरुद्ध गरेको आन्दोलनको सम्झनामा जयतु संस्कृतम् दिवस मनाउने गरिन्छ । सोमबार (असार १ गते) ७४ औँ स्मृति दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाईँदैछ ।

आधुनिक विषय अध्ययन गर्न पाउनुपर्ने माग गर्दै सुरु भएको आन्दोलनपछि जहानिया राणा शासनको विरुद्धमा केन्द्रित भएको थियो । राणा शासकले तीनधारा पाठशालाबाट चार पाटा मुडेर विद्यार्थीलाई उपत्यकाका नाका कटाएपछि जहानिया विरोध गर्दै देशभर जागरण फैलाएका थिए । यसले कुनाकन्दराका जनतालाई राणा शासकका विरुद्ध सङ्गठित गरेको थियो ।

देशका विभिन्न भाग हुँदै विद्यार्थीहरू भारतको बनारस पुगेका थिए । बनारसमा राणाशासनको अन्त्य गर्न प्रवासमा रहेका नेपालीलाई गोलबद्ध गरिरहनुभएका कांग्रेसका संस्थापक वीपी कोइरालालगायत नेतासँग जयतु संस्कृतमका अगुवाहरू पूर्णप्रसाद ब्राह्मण, श्रीभद्र शर्मालगायतले भेटघाट गरी प्रजातन्त्र स्थापनाको आन्दोलनमा सरिक भएका थिए । त्यसबेला असार १ गते विद्यार्थीले आन्दोलन सुरु गरेको सम्झनामा प्रत्येक वर्ष जयतु संस्कृतम दिवस मनाउने गरिन्छ ।

 

प्रकाशित मिति : २०७७ असार १ गते सोमवार
प्रतिक्रिया