सवारी दुर्घटनामा गाउँपालिकाका अध्यक्षको मृत्यु

नवलपरासी, ३२ जेठ

 पश्चिमको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको सवारी दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा गाउँपालिकाका सवारी चालक प्रतापपुर गाउँपालिका-५ का हरिलाल राजभर घाइते भएका जिल्ला प्रहरी कार्यालय पश्चिम नवलरासीले जनाएकाे छ ।

जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी हुन सदरमुकाम जाने क्रममा बर्दघाट–त्रिवेणी सडकखण्डको लक्ष्मीपुरमा उनीहरू सवार लु१झ ३७० नम्बरको सवारीमा दुर्घटना भएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलरासीका प्रमुख एसपी अजय केसीका अनुसार जिप अनियन्त्रित भएर पल्टिएपछि गम्भीर घाइते भएका शर्माको उपचारका लागि चिसापानी सामुदायिक अस्पताल चौपत्ता लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हाे । ५१ वर्षीय शर्मा स्थानीय निर्वाचनमा नेपाली कांग्रेसकाे तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २०७७ जेष्ठ ३२ गते आइतवार
प्रतिक्रिया