कोरोना संक्रमितलाई घर पठाएपछी…

शिवु खनाल                                                                      सांकेतिक फोटो । 

दाङ, जेठ २२ / दाङको राजपुर गाउँपालिकाको क्वारेन्टाइनमा एक सय ५७ जना बसेका थिए । जस मध्य तीन जनामा बुधबार कोरोना पोजेटिभ देखियो । राजपुर गाउँपालिकाको स्वास्थ्य शाखाले तीन जनालाई आइसोलेसनमा राख्नुपर्ने भएपछी बाँकी एक सय ५४ जनालाई डिस्चार्ज गरेर घर पठायो । तर, बिहिबार फेरी राजपुर गाउँपालिकामा तीन जना संक्रमित भेटिएको सूचना सार्वजनिक भयो ।

त्यसपछी कोरोना परिक्षण गरिएको रिपोर्ट नआउदै डिस्चार्ज गरिएको घटना बाहिर आयो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रशासनले गाउँपालिकालाई सूचना संप्रेषण गर्दा भएको त्रुटीले गर्दा यस्तो समस्या आएको राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले दावी गरे । ‘क्वारेन्टाइनमा एक सय ५७ जना बसेका थिए ।

जस मध्य ३५ जनाको नमुना परिक्षण गर्दा बुधबार तीन जनामा संक्रमण देखिएको रहेछ । तर, हामीलाई जानकारी गराउदा एक सय ५७ जनाकै परिक्षण गर्दा तीन जनामा देखियो भन्ने सूचना आएपछी तीन जना बाहेक अरुलाई डिस्चार्ज गरेर घर पठाइएको थियो’गाउँपालिकाका अध्यक्ष केसीले भने–‘बिहिबार फेरी राजपुर गाउँपालिकामा तीन जना संक्रमित फेला परेको जानकारी आएपछी फेरी हामीले घर घरमा पुगेर ल्याएका छौं ।’

गाउँपालिकाले गम्भिर गल्ती गरेको भन्दै केही संक्रमितका परिवारका सदस्य र गाउँलेहरुले विरोध गरेका छन् । राजपुर गाउँपालिकाले बिहिबार पुष्टि भएका तीन जना मध्य दुई जना सम्पर्कमा आएको र एक जनालाई सम्पर्कमा ल्याउने काम भैरहेको राजपुर स्वास्थ्य शाखाका प्रमुख कमल रोकायले बताए । बिहिबार राजपुर–२ निवासी ३४ बर्षिय, वडा नम्बर ३ निवासी २७ बर्षिय र वडा नम्बर ४ निवासी २६ बर्षिय पुरुष व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।।

प्रकाशित मिति : २०७७ जेष्ठ २२ गते बिहिवार
प्रतिक्रिया