कोरोना फैलिन नदिन तुलसीपुरका युवा क्लव र टोल विकास संस्था सक्रिय बन्दै

फाईल फोटो

लक्ष्मण विश्वकर्मा, तुलसीपुर १३ जेठ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस नेपालमा पनि तिव्र गतिमा फैलिन थालेको छ ।सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागी लकडाउन जारी गरेको छ । तर पनि कोरोना भाईरस फैलिने क्रम नरोकिएपछि गाउँबस्तीलाई सुरक्षित राख्नका लागी अहिले दाङका टोल विकास संस्था र युवा क्लवहरु सक्रिय बन्न थालेका छन् ।उनीहरुले कोरोना भाईरसबाट बच्नका लागी गाउँबस्तीका नागरिकलाई सचेत गराउन थालेका छन् । दाङ तुलसीपुर ३ मा रहेको समदर्शी युवा क्लवको अघुवाईमा वडा स्तरिय सुरक्षा दल गठन गरि गतिविधिलाई अघि बढाईएको छ ।

वडा अध्यक्षको रोहवरमा वडाका राजनितिक दल, टोल विकास संस्था, प्रहरी चौकी, युवा तथा सरोकारवालाहरु समेत उक्त सुरक्षा दलमा समाबेश भएका छन् । अहिले गाउँबस्तीमा कोरोना फैलिन नदिनका लागी आफुहरुले सचेतना फैलाउने काम गरीरहेको क्लवका सल्लाहकार चेतमान सेजुवालले बताएका छन् । कोरोना भाईरसको लक्षण, सर्ने तरिका र यसबाट बच्ने तथा रोकथामका उपायहरुको बारेमा नागरिकलाई सुसुचित पार्ने काम भईरहेको उनले बताएका छन् ।

यस्तैगरी टोल विकास संस्थाहरुले पनि टोललाई सुरक्षित राख्न र भयरहित बनाउनका लागी विभिन्न गतिविधिहरु सन्चालन गरेका छन् ।टोलमा प्रचारप्रसार,बाहिरी देश तथा अन्तरजिल्लाबाट घर आउने नागरिकको निगरानी ,टोलमा अपरिचित नागरिकलाई प्रवेशमा रोक जस्ता गतिविधिहरु गदै आएको तुलसीपुर ४ स्थित छोटीदमार टोल विकास संस्था अध्यक्ष तारा बहादुर सेनले बताएका छन् । टोलमा सुचना बोर्ड राखेर टोलबासीलाई भिडभाड नगर्न, टाढाका ईष्टमित्र तथा आफन्तहरुलाई आउन नदिन आग्रह गरेको अध्यक्ष सेनले बताएका छन् । यस्तै अन्य टोल विकास संस्थाहरुले कोरोना भाईरस नफैलियोस् भन्नका लागी अनेकौ उपाय अपनाएका छन् । कतिपय टोलमा सडकबाटो बन्द गरिएका छन् भने स्वयम सेवक पनि परिचालन गरिएको टोल विकास संस्थाहरुले बताएका छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ १३ गते मङ्गलवार
प्रतिक्रिया