चौरजहारी घटना : थप १ जनाको शव भेटियो, मृत्यु हुनेको संख्या तिन पुग्यो

काठमाडौं,१३ जेठ ।

रुकुम पश्चिम चौरजहारी नगरपालिका–८, सोतीस्थित मल्ल थरकी युवतीलाई लिन गएका युवाहरु र गाउँलेको बीचमा भएको झडपमा परी बेपत्ता ३ युवाको शव फेला परेको छ । जन्ती गएका मध्ये अन्य ४ अझै बेपत्ता भएका छन् ।प्रहरीका अनुसार, जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय युवक नवराज विककी प्रेमिका सोतीकी युवतीलाई लिन भनी १९ जना गएका थिए ।

सोतीमा गाउँले र ती युवाहरुबीच झडप हुँदा भेरी नगरपालिका–४ का नवराज विक, भेरी नगरपालिका–४ कै गणेश बुढा र चौरजहारी नगरपालिका–१ टीकाराम सुनारको शव फेला परेको छ । सुनार र विकको शव आइतबार भेटिएको थियो भने गणेशको सोमबार भेटिएको छ । भेरी नगरपालिकाका सञ्जु विक, गोविन्द शाही, लोकेन्द्र सुनार र गोपाल बुढाथोकी शनिबारदेखि बेपत्ता छन् ।

घटनामा संलग्न आसंकामा चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बर मल्ल, युवती सहित आमाबुवा लगाएत स्थानीय १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक ठकबहादुर केसीले जानकारी दिए । घटनाका घाइते आशिष विक र सरोज भँडेलले आफूहरु सोती पुगेदेखि नै जातीय विभेद्कारी गालीगलौज गर्दै ढुङ्गामुढा गरेको दाबी गरे ।

जाजरकोट जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले दोषीमाथि कारवाहीको माग गर्दै धर्ना दिइरहेका छन् । जिल्ला अस्पतालमा राखिएको शव परिवारले बुझ्न मानेका छैनन् । रुकुम पश्चिम जातीय छुवाछुत जिल्ला घोषणा भइसकेको छ ।

शहीद घोषणा गर्न समाजवादी पार्टीको माग

यसैबीच, अन्तरजातीय प्रेम सम्बन्धलाई लिएर रुकुम पश्चिममा हत्या गरिएका जाजरकोटका दलित युवकलाई सांस्कृतिक शहीद घोषणा गर्न समाजवादी पार्टी प्रदेश ५ समितिले माग गरेको छ ।समाजवादी पार्टीका प्रदेश ५ अध्यक्ष अशोककुमार यादवले सोमबार एक विज्ञप्ति जारी गर्दै मृतक परिवारलाई उचित क्षतिपूर्ति र घटनामा संलग्नलाई कानूनी कारवाही गर्न माग गरेका छन् ।उनले घटनाको छानबिन गर्न र मृतक युवकलाई सांस्कृतिक रुपान्तरण अभियानका शहीद घोषणा गर्न माग गरेका छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ १३ गते मङ्गलवार
प्रतिक्रिया