नेपालका २० वटा प्रयोगशालाबाट पिसिआर विधिबाट कोरोना परीक्षण हुने

काठमाडौ, १२ जेठ ।

नेपालका २० वटा प्रयोगशालाबाट पिसिआर विधिबाट कोरोनाको नमूना परीक्षण हुने भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पिसिआर परीक्षण प्रयोगशालाको स्थापनासँगै नेपालमा २० वटा प्रयोगशालाबाट कोरोनाको नमूना परीक्षण हुने भएको हो । शिक्षण अस्पतालमा कोरोना संक्रमित भए÷नभएको छुट्याउनका लागि सोमवार पिसिआर प्रयोगशालाको स्थापना गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोशालाका निर्देशक डा. रुना झाले त्रिवि शिक्षण अस्पतालको प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन गर्न आग्रह गरे ।
नेपालमा कोरोना संक्रमणको दर बढ्दो क्रममा रहेकाले परीक्षणको दायरा पनि बढाउन पूर्ण क्षमतामा प्रयोगशाला सञ्चालन गर्न उनले आग्रह गरे । अस्पतालका कर्मचारीलाई तत्काल तालिम दिएर परिचालन गरिने बताइएको छ ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बाँस्कोटाले एक ‘सिफ्ट’मा ९६ जनाको स्वाब परीक्षण गर्ने क्षमताको ल्याब स्थापना भएको जानकारी दिए । अहिले पूरा क्षमतामा ल्याब सञ्चालन गरेर परीक्षणको दायरा बढाउनुपर्ने दायित्व भएको उनको भनाइ छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ १२ गते सोमवार
प्रतिक्रिया