मावि बालापुरमा ७० बेडको क्वारेन्टाइन तयार

सुमन वली

दाङ, १२ जेठ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ मा रहेको मावि बालापुरमा सुबिधायुक्त क्वारेन्टाइन तयार गरिएको छ । पछिल्लो समय विभिन्न जिल्ला तथा भारतबाट मानिसहरू वडामा भित्रन सक्ने र ती ब्यक्तिहरूबाट समुदायमा कोरोना संक्रमणको जोखिम रहन सक्ने अवस्थालाई मध्यनजर गर्दै ७० बेडको क्वारेन्टाइन तयार गरिएको छ ।

सोमबार तयार गरिएको क्वारेन्टाइनमा ट्वाइलेट, बाथरूम, पानी, बिजुली र इन्टरनेटका साथै सुरक्षाको समेत उचित प्रबन्ध मिलाइएको मिलनचोक टोल बिकास संस्थाका अध्यक्ष गोपाल प्रसाद वलीले जानकारी दिनुभएको छ ।

वडा अध्यक्ष राजु आचार्यको अगुवाइ तथा उपमहानगरपालिकाको बिपत व्यवस्थापन समितिको सहयोगमा क्वारेन्टाइन तयार गरिएको हो । यसका साथै क्वारेन्टाइन निर्माणका लागि नेपाल रेडक्रस सोसाइटीले २० वटा बेड, कम्बल, त्रिपाल, बाल्टी लगायतका विभिन्न स्वास्थ्य सामाग्रीहरू उपलब्ध गराएको छ भने तुलसीपुर उद्योग बाणिज्य संघले स्प्रे मेसिन, स्यानिटाइजर, सोडियम हाइपो क्लोराइडको व्यवस्था गरिदिएको छ । नेपाली सेनाले २ वटा टेन्ट उपलब्ध गराएको छ भने विद्यालय परिसरमा सरसफाइ पनि गरिदिएको छ ।

वडामा रहेका टोल बिकास संस्थाहरूको सहयोगमा जिल्ला तथा देश बाहिर भएका ब्यक्तिहरूको विवरण पनि तयार भैसकेको छ। वडामा बाहिरबाट कोही आउनासाथ क्वारेन्टाइनमा लगिनेछ । जसको लागि सुरक्षित यातायातको व्यवस्था पनि गरिने बताइएको छ ।

यदि कोही बाहिरबाट वडामा आएको भए आफैं आएर १४ दिन सम्म क्वारेन्टाइनमा बसी आफ्नो परिवार र समुदायलाई कोरोना संक्रमणको जोखिमबाट सुरक्षित राख्न वडा अध्यक्ष आचार्यले सम्पूर्ण वडाबासीमा अनुरोध गर्नुभएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ १२ गते सोमवार
प्रतिक्रिया