अभिनेत्री वर्षाले माफी मागिन्

राजधानी , १२ जेठ

काठमाडौं । अभिनेत्री वर्षा राउतले नेपाल भारतको सीमा समस्यामा दुई देशको मिडियालाई दोष देखाउँदा विवादमा तानिएकी छन् । एक च्यानललाई शनिबार राति दिएको अन्तर्वार्तामा उनले नेपालको अतिक्रमित भूमिभन्दा भारतीय साथीहरू दुःखी भएको भन्दै चिन्ता व्यक्त गरेकी छन् ।

यसरी एक जिम्मेवार अभिनेत्रीले आफ्नो देशको भूमिभन्दा भारतीय साथीहरूसँग अब यो विवादका कारण कसरी मुख देखाउने भनेपछि सामाजिक सञ्जालमा उनको आइतबार व्यापक विरोध भयो । त्यसपछि उनले सामाजिक सञ्जालमै स्पष्टीकरण दिँदै माफीसमेत मागिन् । तथापि, उनको भनाइप्रति विरोध गर्नेक्रम सामाजिक सञ्जालमा रोकिएको छैन ।

सो अन्तर्वार्तामा अभिनेत्री प्रियंका कार्कीले ग्रेटर नेपालदेखिकै नक्सा देखाएर नेपालको भूमिको अवस्थाबारे अध्ययन गरिरहेको बताएकी थिइन् । तर, अभिनेत्री वर्षा राउतले सीमा अतिक्रमणको विवादबारे सञ्चारकर्मीलाई दोषी देखाउँदै यस्तो भनाइ राखिन्, ‘देशको माया लाग्छ भन्दैमा ए हैन यो त यो हाम्रै हो, तिमीहरूले किन यस्तो गरेको भनेर झगडा गर्ने कुरा हैन नि त ।

यो त टेबुलटक गरेर उताको गभर्मेन्ट र यताको गभर्मेन्ट मिलेर पो कुरा गर्ने हो नि त । यहाँ त झगडा पारिरहेको छ क्या दुईवटै जर्ना्लिस्ट मिलेर । दुवै जनाको जर्ना्लिस्ट मिलेर झगडा बनाइरहेको छ क्या । अब मेरो इन्डियन फ्रेन्जहरूसँग म कसरी फेस गर्ने अनि इन्डियन फ्रेन्जहरूले मसँग कसरी फेस गर्ने भैराछ क्या अहिलेको सिच्वेसन चैं ।’

यसरी आफूले अब भारतका साथीहरूसँग अनुहार कसरी देखाउने भनेर चिन्ता व्यक्त गर्दा उनीप्रति सामाजिक सञ्चालमा आक्रोस पोखिएको हो । यो भनाइलाई राष्ट्रियता विरोधी भनेर टिप्पणी गरिएको छ ।

उनले आइतबार नै सामाजिक सञ्जालमार्फत आफूले प्रत्यक्ष कुराकानीमा भूलवश बोलेको भन्दै माफीसमेत मागेकी छन् । तापनि भारतीय मिडियाले सीमा अतिक्रमणको चर्को बोलेको बेला नेपाली मिडियालाई त्यस्तो नबोल्नु भन्न पनि यी अभिनेत्री पछि परेकी छैनन् ।

उनले माफी माग्ने क्रममा आफू भावुक स्वभावको कलाकार भएकाले प्रत्यक्ष प्रसारणमा बोल्दा आफू चुकेको जिकिर गर्दै यसो भनेकी छन्, ‘बोल्दै जाँदा जिब्रो चिप्लियो होला । तर, मनभित्र आफ्नो देश, आफ्नो राष्ट्रियताप्रतिको सम्मानमा म अलिकति पनि चुकेकी छैन, अलिकति पनि माथितल परेकी छैन ।’

उनले माफीको क्रममा हाल लिम्पियाधुरा, लिपुलेक र कालापानीसम्मको भूमिलाई समेटेर जुन नक्सा जारी भयो, त्यो हाम्रो भूमि हो र नेपाल सरकारले जुन कर्तव्यनिष्ठता देखाएको छ । म त्यसको समर्थनमा अग्रपंक्तिमा उभिन तयार छु भनेकी छन् ।

तथापि आफूजस्तो एक व्यक्ति, एक नागरिक मात्रले समर्थन गरेर नहुने उनको कथन छ, ‘जुन कुरा भारतीय मिडियाले उचालेका केही शब्दहरूबाट देखिन थालेको छ । यस्तै असभ्य र असत्य पत्रकारिता हाम्रो मिडियाले पनि नगरोस् । मैले यही भन्न खोजेकी हुँ,’ यी अभिनेत्रीले भनेकी छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ १२ गते सोमवार
प्रतिक्रिया