रुकुम पश्चिमको हत्याकाण्ड :थप एक जनाको शव फेला, वडा अध्यक्ष सहित पाँच जना पक्राउ

दाङ, ११ जेठ ।

रुकुम पश्चिममा भएको हत्याकाण्डमा थप एक जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय जाजारकोटका अनुसार फेला पर्नेमा जिल्लाको चौरजहारी नगरपालिकाका वडा नम्बर १ का टीकाराम सुनार रहेका छन् । उनको शव जाजारकोट र सल्यानको सिमाना क्षेत्र पाउकोट भेरी नदीमा फेला परेको जाजारकोट प्रहरीले जानकारी दिएको छ ।
रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्वर ८ सोती भन्ने ठाउँमा शनिवार साँझ दुलही लिन गएका दुलाहा संगै उनी पनि त्यहा गएका थिए ।

सोहि ठाउँकी १७ बर्षिया सुस्मा मल्ललाई लिन भनि गएका जाजारकोट भेरी नगरपालिका वडा नम्वर ४ रानागाउँ निवासी दुलाहा नवराज विकको केटि पक्षका गाउलेको कुटाईबाट मृत्यु भएको रहस्य खुलेको छ ।केटिले केटालाई घर लिन आउनु भनि बोलाएपछि केटि लिनका लागी केटा पक्षबाट १९ जनाको जन्ती समुह त्यहा पुगेको थियो । घटना भएपछि उनीहरु मध्ये ६ जना भेरी नदीमा हाम फालेका थिए ।

यसैविच सोहि घटनामा संलग्न भएको आरोपमा प्रहरीले केटिका बाबुआमासहित एक जना वडा अध्यक्षलाई नियन्त्रणमा लिएको छ । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा केटीका बुबा वीरबहादुर मल्ल र आमा प्रकाशी मल्ल र सोही वडाका वडाध्यक्ष डम्बरबहादुर मल्ल लगायत छन्। घटनाको अनुसन्धान भईरहेको भन्दै प्रहरीले सवैको नाम खुलाएको छैन ।तर प्रहरी स्रोतले भने उनीहरुलाई सोधपुछका लागी नियन्त्रणमा लिएको बताएको छ । सुष्मालाई लिन मृतक विकसँगै गएका भेरी नगरपालिका ४ का गणेश विक, वडा नम्बर ११ का लोकेन्द्र सुनार, गोविन्द शाही, सन्दीप विक लगाएतका मानिस अझै वेपत्ता भएका छन् ।

 

प्रकाशित मिति : २०७७ जेष्ठ ११ गते आइतवार
प्रतिक्रिया