काठमाडौ,१० जेठ ।
सामाजिक सुरक्षा ऐन २०७५ कार्यान्वयन गर्न सरकारले ल्याएको सामाजिक सुरक्षा नियमावली २०७६ कार्यान्वयनमा आएसँगै ६० वर्ष पूरा नगरेका एकल महिला, अति अशक्त अपाङ्गता भएकाहरू भत्ताबाट वञ्चित भएको भन्दै देशभर विरोध भएको छ ।
सरकारले न्यून आयको मापदण्ड नतोकुञ्जले ६० वर्ष मुनिका एकल महिलालाई सामाजिक सुरक्षा भत्ता नदिन र ६० वर्ष भन्दा कम उमेर भएका एकल महिलाको निवेदन नलिन राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले निर्देशन दिएको थियो । अति असक्त, अपाङ्गता भएका र एकल महिलालाई सरकारले दिँदै आएको भत्ता कटौती गर्न लागेको भन्दै सरोकारवालाहरूले विरोध गरेका हुन् ।
सरकारले भत्ता कटौती नगरिदिन पनि उनीहरूले सरकारसँग आग्रह गरेका छन् ।संसदको महिला तथा सामाजिक समितिका सदस्य खेमप्रसाद लोहनीले सरकारको यो निर्णय उपयुक्त नभएको भन्दै दिँइदै आएको सामाजिक सुरक्षा भत्ताले निरन्तरता पाउनुपर्ने बताए ।
निलो कार्ड प्राप्त गरेका अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई पनि सामाजिक सुरक्षा भत्ता नदिन र त्यस्ता व्यक्तिको नयाँ निवेदन पनि नलिन भनेपछि ७० हजार अपाङ्गता भएका व्यक्तिको बाँच्ने साहारा नै गुम्ने राष्ट्रिय अपाङ्ग महासङ्घको भनाइ छ ।
राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका अनुसार अहिले ३२ लाख ४५ हजार पाँच सय ४१ जनाले विभिन्न प्रकारको सामाजिक सुरक्षा भत्ता पाउदै आएका छन् । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले सामाजिक सुरक्षाको रकम निरन्तरका लागि मन्त्रालयले पहल गरिरहेको बताए ।