भारतबाट आउनेको संख्या बढेपछि तुलसीपुरमा क्वारेन्टाइन पनि थपिदै

तुलसीपुर, ९ जेठ

भारतबाट आउने नेपालीको संख्या वढेसँगै तुलसीपुर उपमहानगरपालिकाले क्वारेन्टाइन निर्माणलाई तिव्रता दिएको छ । १ सय वेडको क्वारेन्टाइन निर्माण गरेर काम अगाडि वढाएको उपमहानगरपालिकाले विभिन्न ठाउँमा क्वारेन्टाइन निर्माण गर्न थालेको विपद् व्यवस्थापन शाखाका प्रमुख भिमप्रकाश खत्रीले जानकारी दिए ।

‘५ ठाउँमा वनिसकेको छ अन्य ठाउँमा वनाउने तयारी चलिरहेको छ’ खत्रीले भने । उनले तत्कालका लागि ३ सय ५० वेड तयार भइसकेको वताए । रक्षाचौरमा १ सय, मावि कालाखोलामा ५०, राप्ती लाइफ केयर कलेजमा ५०, माध्यमिक विद्यालय तुलसीपुर सेन्टरमा ५० र अमर मावि उरहरीमा १ सय वेड निर्माण भइसकेको छ ।

भारतबाट आउने संख्यालाई आँकलन गरेर उपमहानगरपालिकाले २ हजार वेडको क्वारेन्टाइन निर्माणको तयारी गर्न थालेको कोभिड फोकल पर्सन विमल केसीले जानकारी दिए । ‘सबै एकैपटक नआउने भएकाले विस्तारै वेड निर्माणको काम अगाडि वढाएका छौ’ केसीले वताए ।

शुक्रवार दिउँसोसम्म १ सय ३३ जना क्वारेन्टाइनमा रहेका छन् । जसमा भारतबाट १ सय २ जना आएका छन् भने अन्य फरक जिल्लाबाट आएका छन् । ‘हरेक दिन आउनेको संख्या वढिरहेको छ’ केसीले भने । उनले भारतबाट आउनेलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राखिने समेत वताए ।

९३ को पिसिआर टेस्ट
तुलसीपुर उपमहानगरपालिका अन्तर्गतका क्वारेन्टाइनमा रहेका ९३ जनाको पिसिआर टेस्ट भएको छ । चेकजाँच भएका सबैको रिपोर्ट नेगेटिभ आएको जनाइएको पनि फोकल पर्सन केसीले जानकारी दिए । उनले ४७ जनाको आरडिटी चेकजाँच भएको पनि वताए ।

प्रकाशित मिति : २०७७ जेष्ठ ९ गते शुक्रवार
प्रतिक्रिया