राप्ती प्रादेशिकमा प्रसुति सेवा लिनेको संख्याम वृद्धि

तुलसीपुर, ६ जेठ

कतिपय जिल्लामा सुत्केरी सेवा लिनेको संख्या घटिरहेका बेला राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भने यो संख्या बढेको छ । लकडाउनक कारण समयमै अस्पताल पुग्न नसक्दा कतिपय सुत्केरीको अकालमै ज्यान गएको खबर आइरहदा तुलसीपुरमा भने संख्या बढ्नुलाई सुखद खबर मानिएको छ ।
गत बर्षको तथ्याङलाई तुलना गर्दा यस बर्ष अस्पतालमा आएर सेवा लिनेको संख्यामा वृद्धि भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जानकारी दिएको छ । अघिल्लो आर्थिक बर्ष २०७५÷०७६ मा सुत्केरी सेवा लिनेको संख्या २ हजार एक सय १८ थियो भने यस बर्ष २ हजार ७ सय ८४ जनाले सुरक्षीत सुत्केरी सेवा लिएको अस्पतालका सूचना अधिकारी डिल्ली केसीले जानकारी दिए ।

सूचना अधिकारी केसीक अनुसार वितेको १० महिनालाई तुलना गर्दा ६ सय ६६ जना बढी महिलाले अस्पतालमै आएर सुत्केरी सेवा लिएका छन् । विगतमा राप्ती विज्ञान स्वास्थ्य प्रतिष्ठानमा गएर सेवा लिने महिला सुरक्षीत सुत्केरी सेवा लिन तुलसीपुरमा आएपछि यसको संख्यामा वृद्धि भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त सुपरी टेन्डेन्ट डा. पदमराज अधिकरीले जानकारी दिए ।

‘घोराही उपमहानगरपालिका तथा त्यसको आसपास क्षेत्र, रोल्पा र सल्यानबाट समेत सेवा लिन आएपछि संख्यामा वृद्धि देखिएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अधिकारीले जानकारी दिए ।राप्ती विज्ञान प्रतिष्ठानले सुरक्षीत सुत्केरी सेवा दिए वापत शुल्क लिने गरेपछि घोराही क्षेत्रका महिलाहरु राप्ती प्रादेशिक अस्पतालमा सेवा लिन आएकाले पनि संख्यामा वृद्धि भएको अस्पतालले बताएको छ ।

‘पहिला त्यताबाट एउटा पनि बिरामी आउँदैन थिए,’ डा. अधिकारीले भने–‘ जब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान भयो त्यसपछि अस्पतालमा हुने आन्दोलन र प्रसुति सेवा दिए वापत लिने शुल्कका कारण त्यताबाट सेवा लिन यता आउँदा संख्या बढ्यो ।’ राप्ती प्रादेशिक अस्पतालले नियमित ४ पटक जाँच गराएर सुत्केरी सेवा लिएमा एक हजार ८ सय र सुत्केरी सेवा मात्रे लिन आएका एक हाजर रुपैयाँ उपलब्ध गराउने गरेको छ ।
शुल्क लिदैनौ : कायममुकायम रजिष्टार देव
यता राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका कायममुकाय रजिष्टार कैलाश प्रसाद देवले प्रसुति सेवा वापत शुल्क नलिएको बताएका छन् । नियमित चेकजाँच गराएमा सरकारको मापदण्ड अनुसार प्रसुति सेवा लिनेलाई यातायात वापत खर्च दिने गरेको कायम मुकायमा रजिष्टार देवले बताए ।
आमा सुरक्षा कार्यक्रम लागु भएपछि प्रसुति सेवा लिन आउनेलाई प्रोत्साहन तथा यातायात खर्च दिने गरेको उनले बताए । उनका अनुसार यो कार्यक्रम गएको कार्तिक महिनाबाट लागु भएको थियो ।

 

प्रकाशित मिति : २०७७ जेष्ठ ६ गते मङ्गलवार
प्रतिक्रिया