छिमेकी जिल्लामा कोराना संक्रमित बढे संगै अर्घाखाँची उच्च जोखिममा

दाङ, ३० बैशाख ।

छिमेकी जिल्ला कपिलवस्तु र रुपन्देहीमा संक्रमण बढ्दै गएपछि अर्घाखाँची जिल्लामा लकडाउनमा थप कडाइ गरिएको छ।कपिलवस्तु र रुपन्देहीबाट अर्घाखाँची प्रवेश गर्ने नाकाहरुमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्बासेले जानकारी दिए।

कपिलवस्तुबाट अर्घाखाँची आउने पैदल यात्रु र अत्यावश्यक बाहेक अन्य गाडीलाई भित्रिनबाट रोक लगाईएको छ । यस्तै जिल्ला भित्रिने सन्धिखर्क–गोरुसिंगे सडकखण्ड अन्तर्गत सीमा क्षेत्र पत्थरकोट र सीमा जोडिएका अन्य ठाउँमा प्रहरी परिचालन गरेको छ।कपिलवस्तुमा संक्रमणको संख्या बढ्दै गएपछि अर्घाखाँची उच्च जोखिममा रहेकाले सतर्कता अपनाउदै आवतजावतमा पूर्णरुपमा रोक्ने, लकडाउन प्रभावकारी बनाउने र सीमा क्षेत्रमा कडाई गर्ने निर्णय गरेको उनले बताए।
उनले मुख्य बाटो बाहेकका जंगलका सानातिना सडकबाट प्रवेश गर्ने सम्भावना भएकाले नाकामा व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए।अर्घाखाँचीमा रुपन्देहीको सालझण्डी र कपिलवस्तुको गोरुसिंगेबाट प्रवेशका मुख्य नाका रहेपनि अरु सडक भएर पनि गाउँ जानेहरु बढेका छन्।अर्घाखाँचीको सीमावर्ती जिल्ला कपिलवस्तु र रुपन्देहीमा मंगलबार मात्रै १७ जनामा कोरोना संक्रमण देखिएको छ।

प्रकाशित मिति : २०७७ बैशाख ३० गते मङ्गलवार
प्रतिक्रिया