हत्या गरेको आरोपमा तिन जना पक्राउ

काठमाडौ, २६ बैशाख ।

बिहीबार साँझ तेह्रथुम र खोटाङमा ३ जनाको हत्या गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।बिहीबार साँझ साढे ६ बजे तेह्रथुमको फेदाप गाउँपालिका(५ ईसिबु बस्ने २० वर्षीय कन्चन लिम्बूले आफ्नै बुबा ४२ वर्षीय रुप बहादुर लिम्बू र सौतेनी आमा ३५ वर्षीया रुपेनी लिम्बूलाई बन्चरोले टाउको तथा ढाडमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । छोराको बन्चरो प्रहारबाट दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको थियो ।

हत्यापछि फरार रहेका लिम्बूलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।यसैगरी खोटाङको केपिलासगढी गाउँपालिका(२ का ४७ वर्षीय प्रितिलाल राईलाई आफ्नै सालो २७ वर्षीय मिलन राईले ढुङगा प्रहर गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

बिहीबार साँझ आफ्नै घरतर्फ जाँदै गरेको अवस्थामा बाटैमा रहेका मिलनले एक्कासी ढुङगाले टाउकोमा प्रहार गर्दा प्रितिलालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । भिनाजुको हत्या गरी फरार रहेका राईलाई ईलाका प्रहरी कार्यालय बाक्सिलाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।घटनामा संग्लग्न रहेका उनका भाई २० वर्षीय जिवन राईलाई समेत नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७७ बैशाख २६ गते शुक्रवार
प्रतिक्रिया