मन्त्रीपरिषदको बैठक आज बस्दै, लकडाउनको अवधी थप्ने निश्चित

काठमाडौ, २४ बैशाख ।

लकडाउनको अवधि थपिने भएको छ ।कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनका कारण कोरोना रोकथाममा सहयोग पुगेको भन्दै यसलाई जारी राख्ने निर्णय गरेको हो । मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा प्रधानमन्त्रीकै उपस्थितिमा बसेको बैठकले लकडाउनको समय थप्ने निर्णय गरेको हो ।

तर कति दिनलाई थप्ने भन्ने बुधबारको मन्त्रीपरिषद्को बैठकले निर्णय गर्ने प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद विडारीले जानकारी दिए ।अहिले पनि किसानले खेती गर्ने र आफ्ना उत्पादन बजारसम्म पुर्याउने काम गर्न पाइरहेको, कलकारखाना चलेको र अत्यावश्यक काम नरोकिएकोले लकडाउनलाई अहिलेकै मोडालिटीमा लम्ब्याउने तयारी गरिएको हो ।

सरकारले गएको चैत ११ गतेदेखि लकडाउन गरिरहेको छ । पछिल्लोपटक लम्ब्याइएको लकडाउनको अवधि बिहीबार सकिँदैछ । सरकारले लकडाउन मात्रै लम्ब्याएको तर कोरोना भाइरसको परिक्षणको दायरा नबढाएको, औषधी उपकरण खरिदमा ढिलाई गरेको र चिकित्सकको सुरक्षामा अझै गम्भीर नभएको भन्दै आलोचना पनि भइरहेको छ ।

प्रकाशित मिति : २०७७ बैशाख २४ गते बुधवार
प्रतिक्रिया