काेराेना भाइरस : भारतमा ४२ हजार ८ सयभन्दा धेरै सङ्क्रमित

काठमाण्डौ – भारतमा कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुने र ज्यान गुमाउनेको सङ्ख्या लगातार बढिरहेको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार पाँच सय ७३ जना नयाँ सङ्क्रमित थपिएका छन् भने ८३ जनाको ज्यान गएको छ ।

अब भारतभर कोरोना पोजेटिभ देखिएकाको सङ्ख्या ४२ हजार आठ सय ३६ भएको छ । सङ्क्रमितमध्ये २९ हजार ६ सय ८५ जनाको उपचार भइरहेको छ भने ११ हजार सात सय ६२ जना निको भएका छन् । एक हजार तीन सय ८९ जनाको ज्यान गएको छ । यसैबीच दिल्लीमा थप तीन नियन्त्रित क्षेत्रलाई खुला गरिएको छ । योसँगै भारतको राजधानी दिल्लीमा नियन्त्रित क्षेत्रको सङ्ख्या ९० भएको छ ।

खुला गरिएको क्षेत्रहरुमा अशोक नगर र आसपासको क्षेत्र, पूर्वी पटेल नगर र मोती नगर रहेका छन्, यी ठाउँलाई सोमबार सूचीबाट हटाइएको छ ।

प्रकाशित मिति : २०७७ बैशाख २३ गते मङ्गलवार
प्रतिक्रिया