लकडाउन : कतै खुकुलो,कतै अझ कडाई गर्ने सरकारको तयारी

फाईल फोटो

काठमाडौ, २२ बैशाख ।

कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समिति बैठकले गृह मन्त्रालय, अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई लकडाउनको मोडालिटी कस्तो बनाउने भन्ने बारेमा खाका तयार गर्न निर्देशन दिएको छ।

सोमबार सिंहदरबारमा बसेको समिति बैठकमा लकडाउनको मोडालिटीबारे छलफल भएको थियो। ‘बैठकले मंगलवार समितिमा खाका पेश गर्न ती मन्त्रालयलाई भनेको छ। सोही सुझावको आधारमा मन्त्रिपरिषद् बैठकमा पेश गरिने बैठकमा सहभागी एक मन्त्रीले बताएका छन् ।

अवस्था र सुरक्षा सतर्कता हेरी अन्य ठाउँलाई खुलाउने र कडा बनाउने तयारी गरे पनि तत्काल काठमाडौंलाई भने ‘हाइरिस्क’मै राखिने ती मन्त्रीले बताए।‘लकडाउन खुकुलो बनाउने तयारी छ। ठाउँको अवस्था हेरी ग्रीन जोन, रेड जोन, एल्लो जोन गरी छुट्याइने छ। यद्यपी काठमाडौं ग्रीन जोन मै परे पनि तत्काल काठमाडौंमा लकडाउन नखुलाउने छलफल भएको स्रोतले बताएको छ ।

गएको चैत ११ गतेदेखी जारी लकडाउन पछिल्लो पटक थपिएको समय वैशाख २५ गते सकिँदैछ। नेपालमा हालसम्म कोरोनाका ७५ जना संक्रमित भेटिएका छन् भने त्यसमध्ये १६ जना निको भइसकेका छन्। निको भइसकेको मध्ये दुईजना फेरि अस्पताल भर्ना भएका छन्।

प्रकाशित मिति : २०७७ बैशाख २२ गते सोमवार
प्रतिक्रिया