आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइंदै

तुलसीपुर,२१ बैशाख ।

आज विश्व प्रेस स्वतन्त्रता दिवस ‘भय र पक्षधरतामुक्त पत्रकारिता’ भन्ने नाराका साथ मनाइंदैछ । सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा मे ३ का दिन विश्वभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो ।

कोरोनाको प्रभावका कारण भौतिकरुपमा सहभागी भइ कार्यक्रम गर्ने अवस्था नरहे पनि डिजिटल संवाद, छलफल तथा सञ्चारमाध्यममा सामग्री प्रकाशन(प्रसारणमार्फत् विविध कार्यक्रमको आयोजना गरी दिवस मनाइँदैछ । नेपाल पत्रकार महासंघले दिउँसो १ बजे विशेष डिजिटल संवाद कार्यक्रम गर्ने भएको छ । कार्यक्रममा दक्षिण एशियाको प्रेस स्वतन्त्रता अवस्थाबारे अन्तराष्ट्रिय पत्रकार महासंघ आईएफजेको अनुगमन प्रतिवेदन सार्वजनिक गरिने महासंघले जनाएको छ ।

यसैबीच २०७६ सालमा नेपालमा प्रेस स्वतन्त्रताको अवस्था अझ खस्किएको पाइएको छ । नेपाल पत्रकार महासंघका अनुसार २०७६ सालमा प्रेस स्वतन्त्रता हननका ६० वटा घटना भएका र यी घटनामा ९४ पत्रकार तथा तीनवटा सञ्चार संस्था पीडित भएका छन् ।

महासंघको सञ्चार अनुगमन इकाईको अभिलेख अनुसार पत्रकार गिरफ्तारका ८ वटा, स्वतन्त्र पत्रकारितामा अवरोध तथा कब्जाका ३ वटा, पत्रकारमाथि आक्रमणका १३ वटा, दुर्व्यवहार तथा धम्कीका ३२ वटा, पत्रकार पेशाबाट विस्थापनको एउटा र पेशागत असुरक्षाका तीनवटा घटना भएका छन् ।

प्रकाशित मिति : २०७७ बैशाख २१ गते आइतवार
प्रतिक्रिया