खोलामा दाहसंस्कार गर्दागर्दै बाढीले चितासहित शव बगायो

ईलाम, १६ बैशाख ।

इलामको फाकफोकथुम गाउँपालिकास्थित फाकफोक खोलामा दाहसंस्कार गर्दागर्दै एक्कासी आएको बाढीले चितासहित शव बगाएको छ । वडा नम्वर ३ सल्लेरीका ४० वर्षीय रामबहादुर लकान्द्रीको दाहसंस्कारका लागि चितामा राखिएको शव बाढीले बगाएको फाकफोकथुम गाउँपालिकाकी उपाध्यक्ष सरु राई (सरस्वती)ले जानकारी दिइन् ।

स्थानीय फाकफोक खोलामा शव जलाउन चितामा राखेर दागवत्ती दिएको केहि समयमै एक्कासी आएको बाढीले शव बगाएको हो । फाकफोक खोलाको शीर पाँचथरको घुर्बिसे पंचमी र आसपासमा भएको भीषण वर्षापछि आएको बाढीले शव बगाएको उपाध्यक्ष राईले जानकारी दिइन् ।

शव जल्न नपाइ बाढीले बगाएपछि खोजतलास गरी पुन दाहासंस्कार गरिने भएको छ । मृतकको शवलाई खोजेर भेटिएको अवस्थामा पुनः दाहसंस्कार गरिने भएको छ । लकान्द्रीको आइतबार दिउँसो करिब १२ बजे नजिकैको जंगलमा सुँगुरको चारो खोज्ने क्रममा ढुङ्गाबाट चिप्लिएर लड्दा लकान्द्रीको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०७७ बैशाख १६ गते मङ्गलवार
प्रतिक्रिया