लकडाउनलाई पूर्णरूपमा पालना गर्न अपिल

बुटवल,७ बैशाख ।

बुटवलमा क्रियाशील प्रतिपक्षी दलहरूले कोरोना भाइरसबाट बच्न लकडाउनलाई पूर्णरूपमा पालना गरी आफु पनि बच्न र अरूलाई पनि बचाउन आह्वान गरेका छन् । शनिबार शारीरिक दुरी कायम गरी कॉग्रेसका नगर सभापति खेलराज पाण्डेय, नेमकिपा रूपन्देहीका अध्यक्ष हरिसुन्दर वासी, राजमोका नगर अध्यक्ष तुलसीराम शर्मा, साजमुका नगर अध्यक्ष थर्क बहादुर बाह्रघरे, राप्रपाका नगर अध्यक्ष निरज प्रताप खाँण, राजपाका नगर संयोजक राजेन्द्र अग्रहरी, नेकपा क्रान्तिकारी माओवादी नगर अध्यक्ष मान बहादुर कुवँर, समाजवादी पार्टीका नगर अध्यक्ष बामदेव भुसाल र कॉग्रेसका विमलराज भट्टराई उपस्थित बैठकले सो आह्वान गरेको हो ।

बैठकले बुटवल उपमहानगरपालिकाभित्र राहत वितरण गर्दा व्यवस्थित र नियमित नभएको व्यापक जनगुनासो आएको हुँदा ज्यालादारी काम गर्ने मजदुरहरू, न्यून आय भएका विपन्न परिवारहरू र भाडामा बसेका विद्यार्थीहरूलगायत कोही पनि भोको नरहने गरी बिना पूर्वाग्रह व्यवस्थित र नियमितरूपमा राहत वितरण गर्न माग गरेको छ । लकडाउनको कारण सडकमा अलपत्र परेका यात्रुहरूलाई व्यवस्थापन गर्न सरकारको भूमिका प्रभाकारी नदेखिएको हुँदा यात्रुहरूको खानपिनसहित उचित व्यवस्थापन गर्न माग गर्दै बैठकले कोरोना भाइरस संक्रमण जोखिम बढेको कारण लकडाउन अवधिभरि भारतीय कृषि उपज सामग्री आयत पूर्णरूपमा बन्द गर्न र स्वदेशी कृषि उपजको आवागमन सहज बनाउन पनि माग गरेको छ ।

आफ्नो देश प्रवेश गर्न लामो समयदेखि सिमानामा आएर क्वारेन्टाइनमा बसेका नेपालीहरूलाई स्वास्थ्य परीक्षण गरी आ आफ्नो गन्तव्यमा पुर्याउन माग गर्दै बैठकले सिमानामा आएरअलपत्र परेका नेपालीहरूलाई नेपाल प्रवेश गराइ आवश्यक व्यवस्थापन गर्न जोडदार माग गरेको छ । कोरोना भाइरस संक्रमणको विपत्तिमा परेकाहरूलाई राहत वितरण र सहयोग गरेका सामाजिक , व्यवसायिक संघसंस्था, क्लब र व्यक्तिहरूप्रति बुटवलमा क्रियाशील प्रतिपक्ष राजनीतिक दलहरूको तर्फबाट हार्दिक आभार र धन्यवाद ज्ञापन गर्दै आगामि दिनमा पनि थप सहयोग गर्नु हुन हार्दिक अपिल गरेको छ ।

प्रकाशित मिति : २०७७ बैशाख ७ गते आइतवार
प्रतिक्रिया