प्रदेश सरकारद्धारा १२ वटै जिल्लामा १३ करोड बढि कोरोना विशेष अनुदान दिने

दाङ, ३ बैशाख ।

प्रदेश ५ सरकारले प्रदेशका सबै स्थानीय तह र जिल्ला समन्वय समितिलाई कोरोना विशेष अनुदान दिने निर्णय गरेको छ ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले एक सय नौ स्थानीय तहलाई १३ करोड र जिल्ला समन्वय समितिलाई ६० लाख गरी १३ करोड ६० लाख रुपैयाँ कोरोना विशेष अनुदान दिने निर्णय गरेको हो ।

जसअनुसार बुटवल, घोराही र तुलसीपुर उपमहानगरपालिकालाई २०लाख रुपैयाँका दरले, नेपालगञ्ज उपमहानगरपालिकालाई २५ लाख रुपैयाँ र सिद्धार्थनगर नगरपालिकालाई २० लाख रुपैयाँ अनुदान दिने निर्णय भएको छ ।प्रदेशभित्रका अन्य ३१ नगरपालिकालाई १५ लाख रुपैयाँ, ७३ गाउँपालिकालाई १० लाख रुपैयाँका दरले र १२ वटा जिल्ला समन्वय समितिलाई पाँच लाख रुपैयाँका दरले ६० लाख रुपैयाँ दिईने सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए ।
जिल्ला समन्वय समितिले अनुगमन प्रभावकारी बनाउने र बैठक र अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुखले प्रदेशसभा सदस्यलाई अनिवार्य सहभागी गराउने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको छ ।यसरी उपलब्ध गराइएको कोरोना विशेष अनुदानको रकम स्थानीय तहहरुले सञ्चालनमा ल्याएको कोरोना भाइरस नियन्त्रण तथा राहतसम्बन्धी कोषमा जम्मा गरी मापदण्डका आधारमा खर्च गनुपर्नेछ ।यस्तै, उक्त रकम स्थानीय तहले सञ्चालन गरेको क्वारेन्टाइन व्यवस्थापन, लकडाउनबाट अतिप्रभावित हुने श्रमिक तथा निम्नवर्गीय व्यक्तिलाई राहत वितरणमा पनि खर्च गर्न सक्नेछन् ।

प्रकाशित मिति : २०७७ बैशाख ३ गते बुधवार
प्रतिक्रिया