लकडाउनको समयावधि लम्बिने, नाकामा कडाइ गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौ,३० चैत ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै लकडाउनको समयावधि लम्बिने भएका कारण त्यसैअनुसारको तयारी गर्न निर्देशन दिएका छन् । शनिवार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडियोमार्फत भएको छलफलमा प्रधानमन्त्री ओलीले नोबेल कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सामाजिक दूरी कायम गर्नुको विकल्प नभएको बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

लकडाउनको समय चाँडै अन्त्य नहुने र सीमा नाकामा अझ कडाइ गरिनेमा प्रधानमन्त्रीले जोड दिनुभएको पनि थापाले बताए । भारतमा सङ्क्रमण फैलिने क्रम नरोकिएको बारेमा जानकारी गराउँदै प्रधानमन्त्री ओलीले यस्तो बेलामा लकडाउन खुला गर्ने बारेमा सोच्नु हतार हुने उल्लेख गरे । प्रधानमन्त्री ओलीले करिब चार घण्टा मुख्यमन्त्रीहरूसँग भिडियोमार्फत छलफल गरे ।

प्रकाशित मिति : २०७६ चैत्र ३० गते आइतवार
प्रतिक्रिया