सहमतिपछि बुटवलको कोरोना अस्पतालमा मृत्यु भएका थापाका परिवारले शब बुझे

दाङ, २६ चैत ।
पाँचबुँदे सहमतिसँगै बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका बाबुराम थापाको शव बुझ्न परिवार सहमत भएको छ । कोरोनाको आशंकामा अस्पताल पुगेका ३४ वर्षीय थापाको गत चैत १६ गते मृत्यु भएको थियो । तर थापाको मृत्यु भइसकेपछि आएको रिपोर्टमा संक्रमण नभएको पाइयो ।

समयमा उपचार नपाएर आफ्ना श्रीमानको मृत्यु भएको भन्दै मृतककी श्रीमती रिताले छानविन नभएसम्म शव नबुझ्ने अडान लिएकी थिईन् । बुधवार प्रदेश ५ को सामाजिक विकास मन्त्रालयमा भएको सर्वपक्षीय छलफलमा पाँचबुँदे सहमति भएको छ । वार्तामा मृतकका परिवारलाई दिने गरी आधारभूत राहत कोष बनाउने सहमति भएको छ, जसमा शुरुमा ५ लाख ५ हजार रकम रहनेछ ।

यसैगरी मृतकका दुई छोरालाई उच्च शिक्षासम्म पठनपाठनमा सहयोग गर्ने र मृतककी श्रीमती रिता थापा क्षेत्रीलाई सैनामैनामै स्थानीय सरकारले योग्यता अनुसार रोजगार दिने लिखित सहमति भएको छ । त्यही कारण ११ दिनदेखि बाबुरामको शव लुम्बिनी प्रादेशिक अस्पतालको शवगृहमा थियो ।

प्रकाशित मिति : २०७६ चैत्र २६ गते बुधवार
प्रतिक्रिया