वडाध्यक्षद्धारा स्थानीयलाई तुलसीपुरमा ठूलो परिमाणमा खाद्यन्न वितरण

तुलसीपुर, १९ चैत्र

तुलसीपुर उपमहागनरपालिकामा एक वडाध्यक्षले पहिलो पटक व्यक्तिगत पहलमा ठूलो परिमाणमा स्थानीयलाई खाद्यन्न वितरण गरेका छन् । तुलसीपुर उपमहागरपालिका – ३ का वडाध्यक्ष बीरबहादुर विक (विजय) ले प्रति व्यक्ति २५ किलो चामल र एक लिटर तेलका दरले २ सय २२ घरधुरी परिवारलाई वितरण गरेको वडा सदस्य छवि खरेलले जानकारी दिइन् ।

 

भौगोलिक दृष्टिकोणले तुलसीपुर उमपमहानगरपालिकाको सबैभन्दा बिकट क्षेत्र मानिने बल्ले, कल्ले, टुनापानी, सिध्धारा, थापापानी, बोहोरागाउँ, किमुगैरा, दाङपानी, अम्बास, नाउला, प्रतापकोट, सिस्नेरीका स्थानीयलाई वडाध्यक्ष विकले उक्त खाद्यन्न वितरण गरेका हुन् ।
यी बस्तीहरु ३ नम्बर वडाभित्र पर्दछन् ।

उपमहानगरपालिकामा रहेका १९ वटा वडा मध्य व्यक्तिगत पहलमा विभिन्न संघसंस्थासंग समन्वय गरेर ठूलो परिमाणमा खाद्यन्न वितरण गर्ने विक पहिलो वडाध्यक्ष हुन् । उनले खाद्यन्न तुलसीपुरबाट ट्याक्टरमा ढुवानी गरेर लगेका थिए ।

विश्वभर माहामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण प्रभावित नागरिकहरुलाई स्थानीय सरकारले समेत यति ठूलो संख्यामा एकैपटक स्थानीयलाई खाद्यन्न वितरण गर्न नसकिरहेका बेला वडाध्यक्ष विकले जनमुखी काम गरेर प्रशंसनिय काम गरेको स्थानीय यज्ञबहादुर बुढाले बताए ।

जनतालाई आपत विपतका बेला साथ र सहयोग गर्ने व्यक्ति नै वास्तविक नेता भएको बताउदै स्थानीयबासी बुढाले वडाध्यक्ष विकको कामको अनुसरण अरु वडाले गर्दा कुनै घाटा नहुने बरु उल्टै फाइदा हुने बताए ।  वडाध्यक्ष विकले वडामा रहेका करिब ६ सय घरधुरीलाई खाद्यन्न वितरण गर्ने तयारी गरेको जानकारी दिएका छन् ।

 

 

प्रकाशित मिति : २०७६ चैत्र १९ गते बुधवार
प्रतिक्रिया