नेपाल प्रवेश गर्न लागेका नेपाली र सुरक्षाकर्मीबीच झडप

कैलाली, ११ चैत्र

कैलालीको गौरीफन्टा नाकामा भारतबाट नेपाल प्रवेश गर्न लागेका नेपाली र सुरक्षाकर्मीबीच झडप भएको छ । सरकारले गए राती अबेरसम्म सीमा नाकामा आइपुगेका नेपालीलाई नेपाल प्रवेश गर्न दिए पनि सीमा क्षेत्रमा नेपाल प्रवेश गर्नेको भीड लागेको थियो ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै सरकारले नेपाल भारत सीमा बन्द गरेपछि सुरक्षाकर्मीले उनीहरूलाई रोक्न खोज्दा झडप भएको हो । भीड नियन्त्रण गर्ने क्रममा सीमापारिबाट आउँदै गरेका नेपालीले ढुुंगामुढा गरेका थिए । नेपाल प्रवेश गर्नेको ठूलो भीड रहेका कारण सुरक्षाकर्मीलाई उनीहरूलाई रोक्न कठिन परेको हो ।

गौरीफन्टा नाकामा अलपत्र परेका सयौँ नेपाली सुरक्षा घेरा छिचोल्दै नेपाल प्रवेश गर्न थालेका छन् । उनीहरू दशगजा क्षेत्रमा आइसकेका छन् ।

मोहना पुलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उनीहरूलाई रोक्ने प्रयास गरिरहेको छ । कतिपय नेपाली भने भागेर नेपाल प्रवेश गरिसकेका छन् ।

 

गौरीफन्टा नाकामा सयौँ नेपाली अलपत्र परेका छन् । सरकारले सोमबार साँझसम्म उनीहरूलाई नेपाल प्रवेश गर्न अनुमति दिएको थियो । तर, रातभर पनि नेपालीहरू सो क्षेत्रमा आइपुग्ने क्रम जारी रह्यो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले सोमबार साँझसम्म नाकामा पुगेका सबैलाई नेपाल प्रवेशको अनुमति भए पनि रातीसमेत आउने क्रम जारी भएकाले उनीहरू सीमा क्षेत्रमै बसेको बताए । उनीहरूलाई प्रवेश अनुमति दिने वा नदिने विषयमा कुनै निर्णय हुन नसकेको प्रमुख जिल्ला अधिकारी बोहराले बताए ।

मध्यरात धनगढी उपमहानगरपालिका( १ का अध्यक्ष सन्तोष मुडभरी र वडा( ३ का अध्यक्ष बलबहादुर ऐर सीमा नाकामा पुगेका थिए। उनीहरूले अलपत्र नेपालीलाई खानेकुराको व्यवस्था गरेका थिए।

मंगलबार बिहानदेखि नेपाल लकडाउन भइसकेका कारण उनीहरू नेपाल प्रवेश गर्न नपाएका हुन् ।

प्रकाशित मिति : २०७६ चैत्र ११ गते मङ्गलवार
प्रतिक्रिया