भारतबाट तुलसीपुर आएका २६ जनालाई फिर्ता पठाईयो

लक्ष्मण विश्वकर्मा ,

तुलसीपुर ८ चैत ।
तुलसीपुर, ८ चैत । भारतबाट नेपालगन्ज हुदै तुलसीपुर आउन लागेका २६ जना भारतिय नागरिकलाई फिर्ता पठाईएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको जाँचका लागी स्थापना गरिएको हेल्थ डेस्क तुलसीपुर १३ दमारगाउँबाट उनीहरुलाई फिर्ता पठाईएको हो । शनिवार नेपालगन्जबाट तुलसीपुर तर्फ आउदै गरेको बसमा सवार उनीहरुलाई सोधपुछ गर्दा भारत हुदै नेपाल आएको खुलेपछि फिर्ता पठाईएको हो ।

उनीहरुले बिजौरीका विभिन्न ईट्टाभट्टामा काम गर्नका लागी तुलसीपुर आएको बताएका छन् । तर उनीहरुले आफुहरुको घर नेपालगन्ज भने पनि स्थायी ठेगाना खुलेको छैन । उनीहरु शनिवार भारतको नानपारा देखी नेपाल आएको खुलेको हो । हेल्थ डेस्कमा जाँच तथा सोधपुछ गर्ने क्रममा उनीहरुलाई फिर्ता पठाईएको तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रर्वद्धनका जनस्वास्थ्य निरीक्षक विमल केसीले जानकारी दिएका छन् ।कोरोना भाईरसको जोखिमलाई मध्येनजर गदै भरखरै भारत देखी आएको हुदा उनीहरुलाई फिर्ता पठाईएको हो ।

कोरोना भाईरस रोकथाम तथा उच्च सर्तकताका लागी तुलसीपुर उपमहानगरपालिकाले दुई स्थानमा हेल्थ डेस्क स्थापना गरी जाँच गर्न सुरु गरेको छ । बिशेषगरी भारतको नाका संग जोडिएको जिल्ला भएकाले नेपालगन्ज देखी तुलसीपुर आउने यात्रुहरुका लागी दमारगाउँ र हवाई यात्रा प्रयोग गर्नेहरुलाई लक्षित गदै टरिगाउँ एयरपोर्टमा हेल्थ डेस्क स्थापना गरिएको छ ।

भारतमा समेत कोरोनाको संक्रमण देखीएको हुदा उनीहरुलाई हाल तुलसीपुर आउन रोक लगाईएको हो । हाल सम्म दुई वटा हेल्थ डेस्कमा गरी झन्डै ११ हजार बढि नागरिकमा जाँच गरिएको छ । तर हाल सम्म पनि कसैमा कोरोना भाईरस संकास्पद फेला नपरेको जनस्वास्थ्य निरीक्षक केसीले जानकारी दिएका छन् । शनिवार मात्रै एक हजार बढिलाई जाँच गरिएको थियो ।

प्रकाशित मिति : २०७६ चैत्र ८ गते शनिवार
प्रतिक्रिया