सिनेमाहल र रङगशाला डेढमहिना बन्द

बीबीसी, ५ चैत्र

संसारभरि कोरोनाभाइरस सङ्क्रमणको अवस्था झन् झन् गम्भीर बन्दै गएपछि नेपालले पनि थप कडिकडाउको घोषणा गरेको छ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोनाभाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले बुधवार २५ जनाभन्दा धेरै मानिस अब भेला नगर्न आह्वान गरेको छ।

समितिले मानिसहरूको भिडभाड हुनसक्ने ठाउँहरू पनि अबको डेढ महिना बन्द गर्न निर्देशन दिने निर्णय गरेको छ।

“सिनेमा हल, सांस्कृतिक केन्द्र, रङ्गशाला, खेलस्थल, जिम, हेल्थ क्लब, पौडी पोखरी, डान्सबार आदि स्थलहरू आगामी वैशाख १८ गते (३० एप्रिल) सम्म बन्द गर्ने निर्णय गरेका छौँ,“ उपप्रधानमन्त्री ईश्वर पोखरेलले  बताए।

यसको अनुगमन गर्न पनि निकायहरू तोकिएको उनले बताए। त्यसका साथै २५ जनाभन्दा धेरै भेला हुने कुनैपनि धार्मिक, सामाजिक वा सांस्कृतिक कार्यक्रम पनि रोक्न निर्देशन दिइएको उनले बताए।

“अत्यावश्यक काममा बाहेक बाहिर डुलफिर गर्ने काम पनि अब रोक्नुपर्छ भनेर हामीले ध्यानाकर्षण गराएका छौँ,“ पोखरेलले भने।

प्रकाशित मिति : २०७६ चैत्र ५ गते बुधवार
प्रतिक्रिया