कोरोना भाइरसको सन्त्रास : तुलसीपुरमा मासु बिक्री हुन छाेड्याे

ओपेन्द्र बस्नेत

तुलसीपुर, २ चैत्र / तुलसीपुर–५ नयाँ बसपार्क नजिकै रहेका मासु पसलहरु हिजोआजा सुनसान जस्तै देखिन्छन् । अघिपछि जस्तो मान्छेको चहलपहल पनि त्यति देखिदैन् ।

मासु काट्न, तराजुमा जोख्न, पैसा राख्न र बढि भएको पैसा फिर्ता दिन व्यवस्त रहने मासु पसलेहरु केहि दिनदेखि यता फुर्सदमा देखिन्छन् । किनकी मासु बिक्री नै हुदैन । कारण हो कोरोना भाइरसको सन्त्रास ।

कोरोना भाइरसकोको हल्लाका कारण मासु विक्रीमा गिरावट आएको मासु व्यवसायीहरु बताउछन् । यसको सबैभन्दा बढि प्रभाव ब्रोलर कुखुराको मासुमा परेको छ ।
एकदुई हप्ता अघिसम्म दैनिक करिब एकसय किलो मासु विक्री गर्दै आएको बताउने राप्ती दैनिक २५ देखि ३५ किलोसम्म ब्रोइलरको मासु बिक्री गर्ने गरेको बताउनुभयो ।

‘साढे तीनसय रुपैयाँ किलो हुँदा पनि एकसय किलो भन्दा कम बेचेन,’ संचालक विकले भन्नुभयो – ‘कहाँबाट कोरोनाको हल्ला आयो मुस्कीलले तीनसय रुपैयाँ किलो हुँदापनि २५देखि ३५ किलोसम्म मासु बिक्री हुन्छ । हामी त बरवादै भयौ ।’

यता रोल्पाली डाँगी कुखुरा पसलका प्रोप्राईटर निमबहादुर डाँगी (संगितले) पनि कोरोनाको भाइरसको हल्लाले आफुलाई पनि प्रभाव पारेको बताउनुभयो ।

‘ब्रोईलरको मासुबाट कोरोना भाइरस स¥यो भन्ने हल्ला नबुझेका मान्छेले जनमानसमा पारे,’ डाँगीले भन्नुभयो–‘ त्यसको असरले हामी व्यवसायीलाई पनि छोयो ।’

१० देखि १५ हजार रुपैयाँको मासु दैनिक बिक्री गर्दै आएको बताउने डाँगीले हिजोआज पाँचहजार देखि १० हजार रुपैयाँसम्मको बिक्री गर्ने गरेको बताउनुभयो ।

व्यवसायीका अनुसार यस अघि तुलसीपुरमा दैनिक करिब ७ सय किलोसम्म खपत हुदै आएको ब्रोइलरको मासुमा अहिले साढे तीनदेखि चारसयसम्म खपत हुने गरेको छ ।

अन्य मासु व्यवसायीले भने खासै प्रभाव नपरेको बताएका छन् । ब्रोइलर कुखुराको मासुमा आधा भन्दा बढी प्रभाव परेको बताउदै तालबाङी मासु पसलका मोहोन सिङ खड्काले खसीको मासु बिक्रीमा खासै प्रभाव नपारेको बताउनुभयो ।

राम्रोसंग पकाएर खानुस केहि हुदैन : पशु चिकित्सक
यता पशु सेवा शाखा कार्यालय तुलसीपुरले मासुबाट कोरोना भाइरसकोे संक्रमण नसर्ने बताएको छ । ३० डिग्री सेन्टीग्रेटदेखि माथि तापक्रममा मासु पकाएर खाएमा जुनसुकै भाइरस आएपनि कुनै प्रभाव नपर्ने पशु सेवा शाखा तुलसीपुरका प्रमुख सुवाश आचार्यले बताउनुभयो । ‘फ्राई, भुटुवा र सेकुवा नखानुस,’ कार्यालय प्रमुख आचार्यले भन्नुभयो–‘ मासु कुकरमा तीन सिट्टी लगाएर खानुस केहि हुदैन । ढुक्क हुनुस ।’

प्रकाशित मिति : २०७६ चैत्र ३ गते सोमवार
प्रतिक्रिया