माघ मसान्त सम्म २८ प्रतिशत बजेट खर्च भयो :मुख्यमन्त्री पोख्रेल

दाङ, २९ फागुन ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश ५ सरकार संघीय सरकारसँग प्रतिस्पर्धा गर्ने अवस्थामा पुगेको बताएका छन् । बिहीबार प्रदेश ५ को प्रदेशसभा बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले आर्थिक वृद्धिदरमा गर्ने योगदानमा संघ सरकारसँग प्रदेश ५ सरकार प्रतिष्पर्धा गर्ने अवस्थामा पुगेको बताए ।उनले चालु आर्थिक वर्षको माघसम्ममा २८ प्रतिशत बजेट खर्च गर्न सफल भएको बताए । उनले त्यसमा पूँजीगत खर्च बढी रहेको बताए ।

आगामी महिनामा समिक्षा गर्न लागेको बताउँदै मुख्यमन्त्री पोखरेलले विषयगत मन्त्रालयहरुसँग छलफल गरेर अरु तीब्र गतिमा काम अघि बढाउने तयारीमा रहेको बताए ।प्रदेशको आम्दानी कसरी बढाउने भन्नेमा प्रदेश सरकारले ध्यान दिइरहेको भन्दै उनले प्रदेश सरकारको आम्दानीको आन्तरिक श्रोत खोज्नेतर्फ चासो दिइरहेको बताए ।

भारतीय सीमा क्षेत्रका बासिन्दा नेपालमा सामान खरिद गर्न आउने गरी बिजनेश सेन्टरहरु निर्माण गर्नका लागि छलफल चलाइरहेको भन्दै उनले बताए । उनले प्रदेश लोकसेवा आयोग जनशक्ति आपूर्ति गर्ने तयारीमा जुटिरहेको बताए। त्यसका लागि सरकारले आवश्यक पूर्वाधार तयार गर्ने र सेवा सुविधा तय गर्नेमा ध्यान दिएको उनले बताए।मुख्यमन्त्री पोखरेलले प्रदेश ५ को स्थायी राजधानी चालु अधिवेशनबाटै टुंगो लगाउने तयारीमा रहेको बताए । उनले प्रतिपक्षी दल नेपाली कांग्रेसलाई प्रदेशको राजधानी माग्ने विषय नभई साझा रुपमा टुंगो लगाउनेतर्फ लाग्न सुझाव दिए ।

प्रकाशित मिति : २०७६ फाल्गुन २९ गते बिहिवार
प्रतिक्रिया