मन्त्रीको घरमा भएको बम विस्फोटको जिम्मा विप्लवले लियो

काठमाडौ, २८ फागुन ।

पुर्व सञ्चार तथा सुचना प्रबिधि मन्त्री गोकुल बास्कोटाको निर्माणाधीन घरमा भएको बम विस्फोटको जिम्मा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले लिएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद काण्डमा ७० करोड घूसमा मोलमोलाई गरेकोलगायत विभिन्न १० आरोप लगाउँदै विप्लव समूहले बास्कोटाको घरमा भएको विस्फोटको जिम्मा लिएको छ ।

बाँस्कोटाले सेटलाइट खरिद, फोर जी सेवा विस्तार, अप्टिकल फाइबर विस्तारमा करोडौँ रुपैंया भ्रष्टाचार गरेको, सरकारको प्रवक्ता पदको दुरुपयोग गरी देशभरका ठूला परियोजनाबाट करोडौं घोटाला गरेको आरोप लगाइएको छ । यसैबीच, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमन्त्री बाँस्कोटाको निर्माणाधीन घरमा बम विस्फोट गर्नेलाई कडा कारवाही गर्न माग गरे । बुधवार एक विज्ञप्ति जारी गर्दै प्रचण्डले यस्ता आपराधिक क्रियाकलापको घोर निन्दा र भत्र्सना गरे । अध्यक्ष प्रचण्डले विस्फोट गराउनेलाई आतङ्ककारीको संज्ञा दिँदै घटनामा संलग्नलाई तत्काल खोजी गर्न माग गरे ।

मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा फाँट नजिकै बाँस्कोटाको निर्माणाधीन घरको पर्खालमा बुधवार बिहान पौने आठ बजे प्रेसर कुकर बम विस्फोट भएको थियो । विष्फोटबाट घरको पर्खाल र सीसामा क्षति पुगेको प्रहरीले जनाएको छ ।विष्फोटका कारण नजिककै दुई वटा घरको झ्यालको सिसा र एउटा भ्यानमा पनि क्षति पुगेको छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन २८ गते बुधवार
प्रतिक्रिया