अवसर पाए पुरुष सरह काम गर्न सक्छन् महिलाहरु

लक्ष्मण विश्वकर्मा, तुलसीपुर २५ फागुन ।

कुनै समय चुलो र चौकोमा सिमित महिलाहरु अहिले जागिरे देखी राजनितिक रुपमा अब्बल हुन थालेका छन् । त्यस्तैगरी व्यवसायी,यातायात,डकर्मी लगाएत हरेक काममा पनि महिलाहरु पछिल्नो समय उत्तिकै सक्रिय भएर लागेका छन् । परम्परागत सोचका कारण महिलाले पुरुष सरह काम गर्न सक्दैनन् अर्थात पुरुषले गर्ने काम महिलाले गर्न मिल्दैन भन्ने पितृसतात्मक सोच अहिले बदलिदै गएको छ ।

अवसर र ईच्छा भए महिलाले पनि पुरुष सरह काम गर्न सक्छन् भन्ने थुप्रै उदाहरण देख्न पाईन्छ । समाजमा पुरुषले गरेका काम विगतमा लाज मान्ने महिलाहरु अहिले निर्धक्क भएर खुलेआम काम गर्न थालेका छन् । तुलसीपुर निवासी रेखा वलीले तुलसीपुर सल्यानरोड स्थित शुभम इन्जिनियरिङ वर्कशपमा काम गर्न थालेको डेढ बर्ष भयो ।घरको आर्थिक अवस्था कमजोर भएपछि उनले पैसा कमाउनका लागी ग्रिल उद्योगमा काम गर्न परेको बताउँछिन् । उद्योगमा फलामको काम गर्न त्यति सजिलो छैन तर पनि आफनो घरखर्च चलाउनका लागी काम गर्न बाध्य भएको उनको भनाई छ ।

उनले कक्षा १२ सम्म पढ्ेकी छिन् । उनको पढ्ने रहर र उमेर हुदा पनि आर्थिक समस्या कारण काम गर्न बाध्य भएको उनको भनाई छ । बुवाले अर्की श्रीमती विवाह गरेपछि अहिले कोठा भाडामा लिएर भाई र बहिनी संगै बस्दै आएको उनले बताईन् समाजमा नारीहरुले पुरुष सरह काम गर्न सक्दैनन् भन्नेहरुका लागी यो गतिलो उदाहरण हो ।काम गर्न सके पुरुष महिला जसले गरेपनि केहि फरक नपर्ने उनको बुझाई छ ।अन्य काम खोजेर केहि नपाएपछि घरमा त्यसै बसीरहनु भन्दा सिप सिकेर आत्मनिर्भर बन्ने उनको चाहाना छ । यस्तै नुवाकोट घर भई हाल तुलसीपुर ९ बस्ने लक्ष्मी श्रेष्ठले पनि अटो चलाउदै आएकी छिन् ।

विगत ६ बर्षदेखी उनले अटो चलाउन थालेकी हुन् । सुरुमा नयाँबसपार्कमा फलफुल पसल गदै आएकी उनले आफनो साथी मन्जुले अटो चलाएको देख्दा महिलाले पनि अटो चलाउन सकिने रहिछ भन्ने मान्यताका साथ फलफुल व्यवसाय छोडेर अटो भाडामा लिएर चलाउन सुरु गरिन् । त्यसपछि उनले अटो चालक अनुमती पत्र(लाईसेन्स) निकालेर अहिले आफनै अटो चदाउदै आएकी छिन् ।उनले अटो चलाउन थालेपछि उनका श्रीमान्ले सुरु अटो चलाउदा लाज हुन्छ भन्दै नचलाउन आग्रह गरे । त्यति उनी फलफुल व्यवसायबाट रहरै रहरमा अटो व्यवसाय तर्फ लागीन् । उनको घरमा एउटा डोजर समेत थियो ।त्यसकारण उनका श्रीमान्ले श्रीमतीले अटो चलाउदा लाज हुन्छ भनेका थिए । यद्यपी पैसा राम्रै आन्दानी हुन थालेपछि उनले अझै पनि अटो चलाउदै आएकी छिन् ।

तर विगतमा भन्दा पछिल्नो समय त्यति राम्रो कमाई नभएको उनको भनाई छ ।तुलसीपुर बजारमा सुरुमा ३५ वटा मात्रै अटो रिक्सा हुदा दैनिक पन्ध्र सय देखी दुई हजार,तिन हजार सम्म कमाई हुने गरेको बताउदै उनले आजभोली दैनिक एक हजार सम्म कमाई हुने गरेको बताएकी छिन् । उनीहरु उदाहरणका पात्र मात्रै हुन् । उनी जस्ता महिलाहरु धेरै छन् । जसले पुरुष सरह काम गदै आएका छन् । तर स्थानिय सरकारले आफुहरुको सिप र पेशा प्रति ध्यान नदीएको उनीहरुको गुनासो रहेको छ ।

आफुहरुले पुरुष सरह काम गरे पनि पारिश्रमीकमा विभेद हुने गरेको उनीहरुको भनाई छ । साथै आफुहरुले काम गर्दा ढुक्क भएर काम गर्ने बावाबरण समेत नभएको उनीहरुको गुनासो छ । यस प्रति राज्यले आफुहरु जस्ता सिप र क्षमता भएका महिलाहरुको पहिचान गरी आबश्यक सहयोग गर्नुपर्ने उनीहरुको भनाई छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन २५ गते आइतवार
प्रतिक्रिया