पत्रकार हत्या आरोपमा एक जना १२ वर्ष पछि पक्राउ

बारा, २५ फागुन ।

पत्रकार वीरेन्द्र साहका हत्या आरोपी कुन्दन फौजदार १२ वर्षपछि पक्राउ परेका छन् । फौजदारलाई आइतबार बिहान २ बजे बारागढी गाउँपालिका–६, गडहलस्थित उनकै निवासबाट पक्राउ गरिएको बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए ।

 

फौजदारलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीलाई उनका समर्थकले अवरोध गर्ने प्रयास गरेका थिए । त्यसक्रममा ४ राउन्ड हवाई फायर गर्नु परेको प्रहरी उपरीक्षक पंगेनीले बताए ।

 

एभिन्यूज टेलिभिजनमा कार्यरत साहलाई २०६४ असोज १८ गते पिपरा बजारबाट अपहरण गरी हत्या गरिएको थायो । शान्ति सम्झौतामा आइसकेको तत्कालीन नेकपा (माओवादी) मा संलग्न कुन्दन नेतृत्वको टोलीले टाँगिया बस्ती जंगलमा लगेर हत्या गरेको आरोप लाग्दै आएको छ ।

फौजदारसम्ब‍न्धी मुद्दा मुल्तवीमा रहेकाले उनलाई अदालतमा बुझाइने इलाका प्रहरी कार्यालय, सिमराका डीएसपी गोविन्द पुरीले जानकारी दिए ।बारामा क्रियाशील पत्रकार साहका हत्या आरोपी फौजदार १२ वर्षदेखि फरार थिए । राजनीतिक पहुँचकै आधारमा उनीहरूमाथि कारबाही नभएको भन्दै आलोचना हुदै आएको थियो ।

प्रकाशित मिति : २०७६ फाल्गुन २५ गते आइतवार
प्रतिक्रिया