तुलसीपुरमा १३ हजार बढि बालबालिकाले खोप लगाए,आज अन्तिम दिन

 

लक्ष्मण विश्वकर्मा ,

 तुलसीपुर २४ फागुन । 

तुलसीपुरमा जारी दादुरा र रुबेला रोग विरुद्धको खोप अभियानमा हाल सम्म १३ हजार बढि बालबालिकाले खोप सेवा लिएका छन् । राष्ट्रिय खोप कार्यक्रम अनुसार दादुरा र रुबेला रोग विरुद्धको खोप अभियान अन्र्तगत पहिलो चरणमा तुलसीपुर उपमहानगरपालिका सहित अन्य पालिकामा यहि फागुन १६ गते देखी सुरु भएको हो । तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्धन शाखाका जनस्वास्थ्य निरीक्षक विमल केसीले दिएको जानकारी अनुसार अभियान अन्र्तगत विहिवार सम्म ९ महिना देखि ५९ महिनाका १३०१५ अर्थात ८७ दशमलब १३ प्रतिशत बालबालिकाले दादुरा र रुवेला विरुद्धको खोप लगाएका छन् ।

आगामी २४ गते शनिवार सम्म सन्चालन हुने अभियानमा ६ वर्ष मुनिका बालबालिकालाई पोलियो थोपा समेत खुवाईएको छ । जसमा जन्मदेखी ६ बर्ष मुनिका १५ हजार ७० बालबालिकालाई पोलियो थोपा समेत दिईएको जनस्वास्थ्य निरीक्षक केसीले जानकारी दिएका छन् । खोप पाउनु बालबालिकाहरुको अधिकार हो भन्ने नाराका साथ सुरु गरिएको अभियानमा यस पटक तुलसीपुरमा ९ महिना देखि ५९ महिनाका १४ हजार ९ सय ३६ वालवालिकालाई दादुरा रुवेला खोप लगाउने लक्ष्य राखीएको छ ।

यस्तै जन्मदेखि छ वर्ष मुनिका १७ हजार ९ सय ९७ वालवालिकालाई पोलियो थोपा समेत खुवाईने लक्ष्य रहेको जनस्वास्थ्य निरीक्षक केसीले बताएका छन् । अभियानको पहिलो दिन तुलसीपुरमा प्रत्येक वडामा सवैलाई पाएक पर्ने स्थानमा खोप केन्द्र स्थापन गरी सेवा दिईएको थियो । त्यसपछि स्वास्थ्य संस्था र वडा कार्यालयबाट सेवा दिदै आएको छ । केसीका अनुसार शनिवार उपमहानगर भित्र रहेका राप्ति प्रादेशिक अस्पताल तुलसीपुर, छिल्लिकोट, मानपुरको जमेरा, डुरुवा स्वास्थ्य चौकी, फुलवारी स्वास्थ्य चौकी,उरहरिको आधारभुत मावि,टरिगाउ स्वास्थ्यचौकी,पवननगरको मचोटबाट खोप सेवा दिईने छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन २४ गते शनिवार
प्रतिक्रिया