तुलसीपुरमा ७४ प्रतिशतले हात्तीपाईले रोग विरुद्धको औषधी सेवन गरे

लक्ष्मण विश्वकर्मा , तुलसीपुर २१ फागुन ।

दाङ तुलसीपुर क्षेत्रमा ७४ प्रतिशत नागरिकले हात्तीपाईले रोग विरुद्धको औषधी सेवन गरेका छन् । राष्ट्रिय अभियानकै रुपमा सन्चालन गरिएको कार्यक्रम अन्र्तगत तुलसीपुरमा ७४ प्रतिशत अर्थात १ लाख ११ हजार ४ सय ९३ जनाले हात्तीपाईले रोग विरुद्धको औषधी सेवन गरेको तुलसीपुर जनस्वास्थ्य प्रर्वद्धन शाखाका जनस्वास्थ्य निरीक्षक विमल केसीले जानकारी दिएका छन् ।

दाङ सहित १३ वटा जिल्लामा गएको माघ २५ गतेदेखी हात्तीपाईले रोग विरुद्धको आम औषधी सेवन कार्यक्रम सुरु भएको थियो ।
दाङमा १० औँ पटक औषधी खुवाईएको हो । तुलसीपुर उपमहानगरपालिकाले यस पटक तुलसीपुरमा झन्डै डेढ लाख नागरिकलाई औषधी खुवाउने लक्ष्य राखेको थियो । तर सतप्रतिशत लक्ष्य पुरा गर्न सफल नभए पनि तुलसीपुरमा यस पटक हात्तीपाईले रोग विरुद्धको औषधी सेवन कार्यक्रम प्रभावकारी भएको जनस्वास्थ्य निरीक्षक केसीले दावी गरेका छन् ।

विगतका वर्षको तुलनामा यस वर्ष तुलसीपुर क्षेत्रमा औषधी खुवाउने कार्यक्रम उपलब्धीमुलक बनेको उनको भनाई छ । सामान्यतया ६० प्रतिशत भन्दा वढिले औषधी सेवन गरेमा मापदण्डको सुचक भित्र पर्दछ । लगातार छ पटक सम्म औषधी सेवन गरे पनि नवौँ पटकको अभियानमा सवै नागरिकले सेवन नगरेकै कारण जिल्लामा यस पटक पनि औषधी खुवाईएको थियो । जिल्लामा यसपटक ६ लाख ४ हजार पाँच सय ६३ जनालाई औषधी खुवाउने लक्ष्य राखीएको थियो ।

स्वास्थ्य कार्यालय दाङका प्रमुख सुनिता पौडेलका अनुसार जिल्लाभरको तथ्याङक अझै संकलन भईसकेको छैन । जिल्लामा दश वटा पालिका भएकाले सवै पालिकाबाट तथ्याङक प्राप्त भईनसकेको उनले बताएकी छिन् । जिल्लाभरको सम्पुर्ण विवरण तयार हुन अझै केहि समय लाग्ने बताईएको छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन २१ गते बुधवार
प्रतिक्रिया