थरुहट मोर्चाको बन्दका कारण जनजिवन प्रभावित, बन्द भोली सम्म जारी रहने

तुलसीपुर, २० फागुन ।

थरुहट–थारुवान राष्ट्रिय मोर्चाले आह्वान गरेको बन्दका कारण दाङ सहित पश्चिम तराई क्षेत्र जनजिवन प्रभावित बनेको छ । मोर्चाले सरकारसँग १४ बुँदे माग राख्दै सरकारलाई गएको पौष २२ गते ज्ञापन पत्र बुझाएता पनि कुनै सुनुवाई नभएको भन्दै दबाव दिन दाङ सहित कैलाली, कञ्चनपुर, बर्दिया र बाँके लगाएत देशव्यापी रुपमा बन्दको घोषणा गरेको थियो ।

बन्दका कारण आज दिनभर तुलसीपुर बजार सहित जिल्लाबाट लामो तथा छोटो दुरीमा चल्ने सवारी साधन चल्न सकेका थिएनन् । यस्तै सरकारी कार्यालय, शैक्षिक संस्था, बजार तथा उद्योग कलकारखानामा समेत बन्दको प्रभाव परेको थियो । तुलसीपुर क्षेत्रमा फाटफुट रुपमा मोटरसाईकल, अटो रिक्सा जस्ता यातायातका साधन सन्चालन भएपनि ठुला सवारी साधनका गाडी नचल्दा यात्रुहरु भने मर्कामा परेका छन् । मोर्चाद्धारा आह्वान गरिएको बन्द भोली (बुधवार)बेलुकी पाँच बजे सम्म यथावत रहने मोर्चाका जिल्ला सचिव जितेन्द्र चौधरीले बताएका छन् ।

मंगलवार पहिलो दिन बन्द शान्तीपुर्ण तरिकाले सफल भएको उनले बताएका छन् । आफुहरुले आह्वान गरेको बन्द बुधवार बेलुकी पाँच बजे सम्म निरन्तर लागु हुने जानकारी दिदै उनले यातायात व्यवसायीहरुलाई साँझ पनि गाडी नचलाउन अपिल गरीएको उनले बताएका छन् ।मोर्चाले रेशम चौधरीसहित ११ जना जेलबन्दीको रिहाइ गर्नुपर्ने, टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न गठित छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलनमा उत्रिएको बताएको छ । आफूहरुको माग सम्बोधनमा सरकार गम्भीर नबनेकोले बन्दको आव्हान गरिएको मोर्चाका जिल्ला सचिव चौधरीले बताएका छन् ।

प्रकाशित मिति : २०७६ फाल्गुन २० गते मङ्गलवार
प्रतिक्रिया