राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यअवधी आज सकिदै

काठमाडौ, २० फागुन ।

राष्ट्रियसभाका एक तिहाई सदस्यको कार्यकाल आज सकिँदैछ। गोलाप्रथाबाट दुई वर्षे कार्यकाल परेका सदस्यहरु आज अन्तिम बैठकमा सहभागी हुँदैछन्। विभिन्न कोटा र कलस्टरबाट निर्वा्चित तथा मनोनित सांसदहरुमध्ये १९ जनाको कार्यकाल सकिन लागेको हो। आज कार्यकाल सकिनेमा महिलातर्फ सरिता प्रसाईं, मीनाकुमारी यादव, धनकुमारी खतिवडा, बिन्दा आले, मीना बुढा, युटोल तामाङ र कमला ओली रहेका छन्। त्यस्तै प्रदेश १ का हरिचरण शिवाकोटी, प्रदेश २ का रमेशप्रसाद यादव, बागमती प्रदेशका बलराम बाँस्कोटा, गण्डकी प्रदेशका सुरेन्द्रराज पाण्डे, प्रदेश ५ का दुर्गादत्त उपाध्याय, कर्णाली प्रदेशका कालीबहादुर मल्ल र सूदुरपश्चिम प्रदेशका बद्रीप्रसाद पाण्डेको कार्यकाल सकिँदैछ।

यसैगरी दलित कोटाबाट निर्वा्चित खेमराज नेपाली र रामपृत पासवान तथा अपांगता कोटाबाट निर्वा्चित राजकुमार कुँवर र बृषेशचन्द्र लालको कार्यकाल तथा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित युवराज खतिवडाको कार्यकाल पनि आज सकिँदैछ। यस अघि सत्तारुढ नेकपाको सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरे पनि प्रधानमन्त्री ओलीले अर्थमन्त्री युवराज खतिवडालाई नै सिफारिस गर्ने भनेपछि नेकपामा विवाद भएको छ। सरकारले कसलाई सिफारिस र्गयो भन्ने अझै खुलेको छैन्।

कार्यकाल सकिनेमध्ये सत्तारुढ नेकपाका ८, कांग्रेसका ७, राजपाका २ र समाजवादी पार्टीका एक सांसद छन्। त्यस्तै राष्ट्रपतिबाट मनोनित एक सांसद बाहिरिनेछन्। रिक्त हुने १९ सदस्यको ठाउँमा भोलि नयाँ सदस्यहरुको सपथ हुनेछ। गत माघ ९ गते भएको निर्वाचनबाट आएका १८ जना र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने एक जनाले बुधवार बिहान ११ बजे सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । भोलि (बुधवार)सपथ लिने सांसदमा सत्तारुढ नेकपाका १६ जना र राजपाका २ जना हुनेछन्। त्यस्तै एकजना सरकारको सिफारिसबाट राष्ट्रपतिबाट मनोनित व्यक्ति हुनेछन्। यसैबीच राष्ट्रियसभा बैठक आज बस्दैछ । दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा आज कार्यकाल सकिन लागेका सबै सांसदहरुले आफ्नो भनाइ राख्नुका साथै केही व्यवस्थापकीय कार्यक्रमको कार्यसूची रहेको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले जानकारी दिए। उनका अनुसार आज कार्यकाल सकिन लागेका संसदहरुको दिउँसो साढे १ बजे फोटो शेसनको कार्यक्रम छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन २० गते मङ्गलवार
प्रतिक्रिया