झन्डै एक हप्ता पछि विद्युत महशुल सेवा सुचारु

तुलसीपुर, १८ फागुन ।
नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रको विद्युत महशुल सेवा सुचारु भएको छ । यहि फागुन १० गते शनिवार चट्याङका कारण कार्यालयमा क्षति पुगेको थियो । कार्यालयको सर्भर,नेटवर्क र कम्प्युटरमा क्षति पुगेपछि गत सोमवार देखी विद्युत महशुल सेवा अवरुद्ध बनेको थियो । कार्यालय प्रशासन प्रमुख युवराज विष्टले दिएको जानकारी अनुसार विग्रिएको सर्भर र मेसनरी सामान मर्मत भएपछि आईतवार देखी नियमित सेवा सुचारु भएको हो ।

विग्रिएको मेसनरी सामान तत्काल मर्मत हुन नसकेपछि मर्मतका लागी काठमाडौ पठाईएको थियो । कार्यालयको सर्भरमा नै क्षति पुगेपछि विद्युत महशुल अनलाईन र विलिङ दुबै सेवा बन्द भएको थियो । एक हप्ता सम्म सेवा अवरुद्ध हुदा सेवाग्राही मर्कामा परेका थिए ।

आईतवारबाट सेवा सुचारु भएपछि पहिलो दिन कार्यालयमा विद्युत महशुल बुझाउने सेवाग्राहीको निकै भिडभाड भएको थियो । चट्याङका कारण कार्यालयका चार वटा कम्युटर, टोकन मेसीन एक थान, प्रिन्टर एक थान, युपिएस एक थान, सर्भर र नेटवर्क गरी झन्डै दश लाख बराबरहको क्षति पुगेको थियो ।

प्रकाशित मिति : २०७६ फाल्गुन १८ गते आइतवार
प्रतिक्रिया