‘मर्ने डर पनि छैन बाँच्ने रहर पनि छैन ’

ओपेन्द्र बस्नेत
तुलसीपुर, १५ फागुन / मानिसहरुले खचाखच भरिएको हलकोठाबाट एक महिला जुरुक्क उठेर भनिन ‘हामीलाई लडाउने र मराउने दुईवटै सरकारमा छन । हामीले न्यायको भिक कहिलेसम्म मग्दै हिड्ने ?’ उनले चर्को स्वरमा प्रति प्रश्न गरिन ।

न्याय कहिले पाउने हामी मरेपछि हो । सरकारले कित, आयोग नै गठन नगर्नु थियो । गठन गरेपछि द्धन्द्धपिडितहरुको समस्या बुझनुपर्ने होकि हैन । सरकारमा भएकालाई द्धन्द्धपिडितको बास्तविक अवस्था थाहा छ । तर सत्य निरुपण तथा मेलमिलाप आयोग गठनको सरकारले नाटक मञ्चन गरेर भुलाउने काम गरेको छ ।

उनि थिइन दंगीशरण गाउँपालिका–२ निबासी सीता बस्नेत । २२ बर्षको कलिलो उमेरमा श्रीमान गुमाउदाको पिडा थियो उनको । २०५९ साल असार २६ गते तत्कालिन शाहि नेपाली सेनाले घरमा सुतेका सीताका श्रीमानलाई विहान ५ बजे घरबाट पक्राउ गरेर हत्या गरेको थियो । त्यसपछि द्धन्द्ध पिडितको उपमा पाएकी सीता न्याय माग्दै हिडिरहेकी छन् ।

‘ सरकारले द्धन्द्ध पिडितहरुको कुरा सुनेको छैन । हामीलाई मर्ने डर पनि छैन, बाँच्ने रहर पनि छैन, सीताले भनिन्–‘ न्यायका लागि हामी जे पनि गर्न तयार छौ । सरकारलाई यही कुरा सुनाईदिनु ।’

तुलसीपुरमा आयोजना गरिएको आयोगको कार्यसम्पादनमा मुकामको भूमिका र नव नियुक्त पदाधिकारीसंग अन्तरक्रिया विषयक कार्यक्रममा उनि जस्तै दर्जनौ द्धन्द्ध पिडितले समयमै न्याय नपाएको भन्दै सरकारको खुलेर आलोचना टिप्पणी गरेका थिए ।

‘सरहरुले द्धन्द्ध पिडितहरुको आँखा हामीले हेर्न सकिरहेका छैनौ भनेर भन्नुभयो, अर्का द्धन्द्ध पिडित टिका बुढामगरले आयोगका पदाधिकारीलाई लक्षित गर्दै भने–‘ तपाईहरुले हाम्रा जलेका घर, ढलेका आमा–वुवा, रित्तीएका काख र खोशीएका खुशीहरुको विषयमा पढ्नुपर्छ । अनिमात्रै द्धन्द्ध पिडितको वास्तविक पिडा थाहा हुन्छ ।’

द्धन्द्ध पिडितहरुले पिडा पोख्दा आयोगका पदाधिकारीलाई आफनै वावु अथवा अभिभावक सम्झेर रुने गरेको बताउदै निश्पक्ष छानविन र छिटो छरितो न्यायका लागि पनि आशा गरेको बताए । त्यसैगरी अन्य द्धन्द्ध पिडितहरुले बारम्बार विर्सिसकेका आफना पिडाहरु व्यक्त गर्दा आलो घाउमा नूनचुक छर्के जस्तो पिडाबोध हुने गरेको बताउदै छिटो भन्दा छिटो आफनै पालामा न्याय पाएको र राज्य छ है भन्ने अनुभूति गराउन आग्रह गरे ।

यता सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष गणेशदत्त भट्टले कबिर ६५ हजार द्धन्द्ध पिडितको समस्या समाधानका लागि आफुहरु मुकाम मुकाममा पुगेर समस्या बुझदै हिडेको बताए । आयोग गठन भएको पाँच बर्ष विते पनि समस्या जस्तोका तस्तै रहेको बताउदै तत्तकाल द्धन्द्ध पिडितलाई व्यवस्थापन गर्न नसके नेपालमा भयावह स्थिती सृजना हुने बताए ।

‘यसलाई कुनै पनि हालतमा नलम्याऔं, अध्यक्ष भट्टले भने–‘ द्धन्द्ध संस्था गत भयो भने बाह्य शक्तिको हस्तक्षेप हुन्छ । जसले नेपाल खतराको भुमरीमा फस्छ ।’ आयोगलाई पुर्वाग्रही ढंगले नहेर्न आग्रह उनले गरे । प्रारम्भीक छलफल र विस्तृत छफलपछि परिपुरणको काम गर्ने भन्दै आयोगका सदस्य विष्णु पोखरेलले अन्तराष्ट्रिय प्रकृतिको भन्दा पनि अथार्त धरातल र परिवेशलाई बुझेर काम गर्नु पर्ने बताईन ।

 

 

प्रकाशित मिति : २०७६ फाल्गुन १५ गते बिहिवार
प्रतिक्रिया